अखिल क्रान्तिकारीमा जात्रा, उमेर हदको विवाद

विद्यार्थी र विद्यार्थी नेतामा के फरक छ ? जवाफ आउछ, स्कुल,कलेज, विश्वविद्यालय पढिरहेका नै विद्यार्थी ।

तिनै विद्यार्थीबाट छानिने विद्यार्थी नेता। तर, नेपालमा विद्यार्थी नेता हुन् विद्यार्थी हुन पर्दैन। नेताहरुको आर्शीवाद भए पुग्छ। यो समस्या कांग्रेस, एमाले र माओवादी तिनै दलका विद्यार्थी संगठनमा छ।

ताजा घटना त माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको छँदैछ।  उमेर हद लगाउने कि नलगाउने भन्नेमा उत्पन्न विवाद समाधान नभएपछि अधिवेशन नै सारिएको छ। अखिलको २३औं राष्ट्रिय सम्मेलन १० असोजदेखि सुरु भएको थियो। यही विवादका कारण विद्यार्थी नेताहरुबीच हात हालाहाल भयो।

२३ र २४ मंसिरका लागि सम्मेलन सारिएको छ। तर, मुल विषय उमेर हदको विवाद साम्य भएको छैन। 
 

क्रान्तिकारीका निवर्तमान पदाधिकारी उमेर हद लगाउन नहुने पक्षमा छन् भने अधिकांश प्रतिनिधि उमेर हदको पक्षमा छन्। विवाद बढेर हुलदंगा भएपछि  समस्या समाधान गर्न भन्दै माओवादीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको थियो। तर, उनले समाधान दिन सकेनन्।
क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम गर्नुपर्ने माग छ। यो उमेर हद लागू भएमा अध्यक्षमा दाबी गरिरहेका डेढ दर्जन उम्मेदवार सबै बाहिरिने भएका छन्।

उमेर हद लागू हुँदा २२ औं सम्मेलनबाट निर्वाचित १७ उपाध्यक्षहरू इन्‍द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, डा अच्युत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रविणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव लगायत प्रतिस्पर्धाबाट बाहिरिने छन्। यो दौडबाट संगठनका निवर्तमान महासचिव दिपेश पुन पनि बाहिरिने छन्।

योसँगै निवर्तमान उपमहासचिव र तल्लो वरियतामा रहेकाहरूको नयाँ कार्यसमितिको नेतृत्वमा दबदबा रहनेछ ।

त्यही भएर पार्टी नेतृत्वले पनि उमेर हद लागू गर्न चाहेको छैन।  अघिल्लो सम्मेलनले नयाँ कार्यसमिति निर्वाचित गर्न नसकेपछि सम्मेलन सकिएको केही समयपछि प्रचण्डले अध्यक्षका प्रत्यासीहरूलाई खुमलटार बोलाएर पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरिदिएका थिए।
प्रस्तावित विधानमा २४३ केन्द्रीय समितिको व्यवस्था गरिएको छ । पदाधिकारी ३३ जना रहने गरी बनाइएको विधानमा उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२, कोषाध्यक्ष १ रहने गरी प्रावधान छ।

क्रान्तिकारीमा उमेरहदको विवाद चलिरहँदा विद्यार्थी नेताहरुले पार्टी नेताहरूका लागि अवसरहद मापदण्ड लगाउनुपर्ने अभियान सञ्चालन गरेका छन्। शनिबारदेखि विद्यार्थी नेताहरूले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका पदाधिकारीहरूका फोटो राखेर अवसरहदको बहस सुरु गरेका हुन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन लगायतको फोटो राखेर पोस्टर बनाएर ‘ब्रेक द चेन’ भन्दै फेसबुकमा सञ्जालमा अभियान चलाइएको छ।