गृहमन्त्री लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण

 गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

आइतबार गृहमन्त्री लेखकले ललितपुर जिल्लास्थित बाढीपहिरो प्रभावित गोदावरी, देवीचौर, टिकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गर्नुभएको हो ।  बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिनुभयो । 

उहाँले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताउनुभयो ।  सरकारले बाढीपहिरो समस्यालाई गम्भीर रुपमा लिएको भन्दै उहाँले सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउने लगायत बसोवास व्यवस्थापनको लागि सरकार लागिपरेको बताउनुभयो । विपदमा सबै एकाकार भएर काम गर्नुपर्ने बताउनुभयो । 

निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।