मनसुन पश्चिम नेपालबाट बाहिरियो

औसतभन्दा बढी पानी परेर विपद् निम्त्याएको यस वर्षको मनसुनी वायु अन्ततः नेपाली आकाशबाट बाहिरिन शुरू गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आइतबार मनसुन बहिर्गमन बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम प्रदेशबाट बाहिरिन शुरू गरेको जनाएको छ। सुदूरपश्चिमसँगै कर्णाली प्रदेशको धेरै र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रको थोरै भूभागबाट मनसुन बाहिरिएको बुलेटिनमा उल्लेख छ।

विभागले मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ। विभागले देशका बाँकी भूभागबाट मनसुन कहिले पूर्ण रूपमा बाहिरिन्छ भनी नजनाए पनि सम्भवतः दशैंभित्रै बाहिरिने आकलन छ।

मनसुनी वायु कमजोर हुन थालेकाले अब छिटफुट बाहेक ठूलो वर्षाको पनि सम्भावना छैन। विभागले मनसुनी गतिविधिलाई नियालिरहेको र थप बुलेटिनबाट मनसुन बहिर्गमनको जानकारी अद्यावधिक गर्ने जनाएको छ।