चलचित्र ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा कति गर्याे ग्रस कलेक्सन ?

नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा दुई करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्र घटस्थापनाको दिन (असोज १७ गते) बिहीबार रिलिज गरिएको थियो ।

चलचित्रले पहिलो दिन बिहीबार ८० लाख कमाएको थियो । दोस्रो दिन शुक्रबार ५५ लाख आम्दानी गरेको थियो । तेस्रो दिन शनिबार ९० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक अशोक शर्माले जानकारी दिए ।

उनका अनुसार, बिदाका दिनमा हलमा दर्शकको अकुपेन्सी ८० देखि ९० प्रतिशत छ । बिदाबाहेकका दिनमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको उनले बताए ।

‘बेहुली फ्रम मेघौली’ले देशभर ३३५ भन्दा धेरै शो पाएको थियो । नेपालमा यति धेरै शो पाउने यो पहिलो चलचित्र हो । चलचित्रमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । चलचित्र सजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन् । 

चलचित्रमा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायत कलाकारको पनि अभिनय छ ।