सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज निर्माण थालियाे

डेढ साता अघि आएको बाढीले गाउँदा क्षति भएको सुनकोसी नदीको पुल निर्माण थालिएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज निर्माण थालिएको हो। 

सुनकोशी नदीको मोटरेवल पुल बाढीले बगाएपछि तत्काल यातायातका साधन सञ्चालन गर्ने गरी नेपाली सेनाले बेलिब्रिज पुल निर्माण थालेको हो। बेलिब्रिज निर्माणका लागि पाँच वटा ट्रकमा शुक्रबार नै निर्माण सामाग्री ल्याएको छ। शुक्रबार नेपाली सेनाले हेलिकोप्टरद्वारा सर्भेक्षण गरेपनि शनिबारबाट नेपाली सेनाको प्राविधिकसहितको टोलीले सुनकोशी नदीमा बेलिब्रिज निर्माण थालेको हो।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार सुनकोशी नदीमा अस्थायी रुपमा यातायात सञ्चालनका गर्न बेलिब्रिज निर्माणका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिए अनुसार शनिबारबाट बेलिब्रिज निर्माण थालिएको हो। डेढसाता अघि आएको बाढीका कारण रामेछाप, ओखलढुंगा र दोलखा जिल्लाकै लाइफलाइनका रुपमा रहेको खुर्कोट पुल सुनकोसी नदीमा आएको बाढीले बगाउँदा करोडौंको क्षति भएको थियो।

सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोट पुलको रामेछापतर्फको स्पान बगाएको भएपनि पिल्लर भने केही भएको छैन। त्यही पिल्लरमा नेपाली सेनाले सकेसम्म दशैं अघिनै सम्पन्न गर्ने गरी द्रुतगतिमा बेलिब्रिज निर्माणको कामलाई अघि बढाएको छ। 

बेलिब्रिज निर्माणमा स्थानीय तह, राजनीति दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय नागरिकहरूले समेत सहयोग गरेका छन्। पुल निर्माणमा खटिएका नेपाली सेना लगायतको खान, बस्न लगायतका व्यवस्थापन गोलन्जोर गाउँपालिकाले गर्ने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानले बताए। उक्त पुल बगाएपछि पूर्वी नेपाल र तराई मधेशका साथै छिमेकी राष्ट्र भारतबाट आउने यात्रुका साथै सरसामान ओसारपसारमा समस्या भएको थियो।