आईफोन १६ किन्ने नेपालीलाई दुई वर्षको वारेन्टी

आईफोन १६ सिरिज नेपालमा पनि चाँडै उपलब्ध हुने भएको छ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टका कार्यकारी निर्देशक पवन भिमसरियाले यो  सिरिज नेपालमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

​“एप्पलले मिति तोक्नासाथ हामी नेपालमा फोन सार्वजनिक गरिहाल्छौं,” उनले टेकपानासँग भने । स्रोतका अनुसार आईफोन १६ दशैंअघि नै नेपाली बजारमा उपलब्ध हुने सम्भावना छ । यस अवसरलाई ध्यानमा राख्दै कम्पनीले विशेष अफर ल्याएको छ ।

यस अन्तर्गत एप्पलका आधिकारिक स्टोरबाट आईफोन १६ खरिद गर्ने ग्राहकले थप एक वर्षको वारेन्टी पाउनेछन् । “एक वर्षको अन्तर्राष्ट्रिय एप्पल वारेन्टीसँगै नेपाली स्टोरबाट किन्ने ग्राहकका लागि थप एक वर्षको वारेन्टी प्रदान गरिने छ,” कम्पनीका एक प्रतिनिधिले भने । साथै एक पटकको फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र एक पटक पछाडिको ग्लास रिप्लेस गर्न पाउने अफरसमेत समावेश छ । 

त्यसबाहेक आईफोन १६ को कुनै पनि सिरिज खरिद गर्नेमध्ये एक भाग्यशालीले आईफोन १६ प्रो म्याक्स र ५० जनाले एप्पल वाच सिरिज १० पाउनेछन् । आईफोन १६ का कुनै पनि मोडेल खरिद गर्ने  ग्राहक स्वतः यस अफरमा सहभागी हुनेछन् ।