चाडपर्व लक्षित सुरक्षा : तालिम प्राप्त कुकुरदेखि १० हजार प्रहरीसम्म

काठमाडौँ, २० असोज : दसैं, तिहार र छठ पर्वका अवसरमा उपत्यकाको शान्ति, सुरक्षा दुरुस्त राख्नका लागि प्रहरीले विशेष योजना ल्याएको छ। यसका लागि काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी कार्यालयले छुट्टाछुट्टै चाडपर्व लक्षित सुरक्षा योजना बनाएका छन्।

उपत्यका प्रहरी कार्यालय काठमाडौंले विशेष सूचना जारी गरेको छ। चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी, आर्थिक अपराध, विवाद, झैझगडालगायतका समस्यालाई रोक्न प्रहरीले मोबाइल गस्तीदेखि, सीआरभी भ्यानसमेत परिचालन गरेको छ। उपत्यकाका तीनवटा जिल्लामा चाडपर्व सुरक्षाकै लागि १० हजार प्रहरी परिचालन गरिएको छ। 

उपत्यका प्रहरी कार्यालय ‘मेट्रो’ रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार चाडपर्वलाई शान्तिपूर्ण बनाउनका लागि सुरक्षाका सबै तयारी पूरा भएको छ। उनी भन्छन्, ‘मातहतका प्रहरी कार्यालयले बनाएको योजना नै कार्यान्वयन गर्छौं। उनीहरूलाई भइपरी आएमा, समस्यामा परेको अवस्थामा हामीले पनि तुरुन्तै खटाउन सक्ने गरी रिजर्भ फोर्स तयारी अवस्थामा राखेका छौं। मेट्रो प्रहरी कार्यालयअन्तर्गत अन्य जिल्लालाई सघाउनका लागि एक हजारको संख्यामा रिजर्भ टोली तयारी अवस्थामा छन्। 

चाडपर्वमा विशेषगरी आर्थिक कारोबार हुने स्थानहरूमा चोरी तथा लुटपाटको सम्भावना हुने हँुदा त्यस्ता स्थान र क्षेत्रमा प्रहरीले सिभिल डे«समा प्रहरी टोली खटाएको छ। प्रवक्ता घिमिरे भन्छन्, ‘विशेषगरी चाडपर्वमा भिडभाड हुन्छ, यो समयमा पेयपदार्थमा नशालु पदार्थ मिसाएर मानिसलाई लठ्ठ बनाएर लुट्ने समूह सक्रिय हुने गरेका छन्। अत्यधिक भीडभाड हुने स्थानहरू फुटपाथका पसल, न्युरोड, बसपार्क, टिकट काउन्टर, विमानस्थल, गाडी छुट्ने नाकाहरू जोखिमपूर्ण छन्। यस्ता स्थानहरू खसीबजार सपिङ मल, हटस्पट पहिचान गरेर ड्युटी मिलान गरिएको छ। 

प्रहरीले पहिचान भएका पकेटमार तथा चोरीमा संलग्नहरूको पनि निगरानी गरिरहेको छ। चाडपर्वमा जुवा, तास, कौडा खेल्ने र ठूलो मात्रामा जितहारका विषयमा झगडा गर्ने हुँदा यसलाई निरुत्साहन गर्नका लागि विशेष निगरानी गरिएको छ। मोबाइल गस्ती तथा एरिया विभाजन, विशेष चेकिङ, सादा पोसाकका प्रहरी परिचालन, पैदलगस्ती टिम, चाडपर्वको बेला विस्फोटक सामग्री ओसारपसार नहोस् भनेर तालिम प्राप्त कुकुरको प्रयोग गरेर निगरानी भइरहेको छ। 

काठमाडौं प्रहरी परिसरले ‘नागरिक स्वयंको सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔं सुरक्षित राजधानी’ भन्ने नारा बनाएरै निगरानी सुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेका अनुसार, काठमाडौं परिसरले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याई जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको हो। सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौंलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०÷१० जनाको टोली बनाई परिचालित गरिएको छ। काठमाडौं जिल्लाभित्र कुल ३ हजार ७ सय ६५ जनशक्ति परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। 

प्रहरीका अनुसार उपत्यकाको जुनसुकै स्थानमा घटना भइहाले पनि घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ तयारी अवस्थामा छ। सीआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको छ। घटनास्थलको तस्बिर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’ प्रयोग हुनेछ। प्रहरी तैनाथीको अवस्था बुझ्न जीपीए र तत्काल रेस्पोन्सका लागि आवश्यक सामग्रीसहित इक्युआरटी टिमलाई परिचालित गरिएको छ। घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र थप प्रहरी पुन सक्ने गरी तयारी गरिएको छ। 

अपराध हुन सक्ने सम्भावित क्षेत्रमा प्रहरीले पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ। प्रहरीले स्थानीय बासिन्दाका खाली घर, आर्थिक कारोबार हुन सक्ने स्थान, सरकारी कार्यालय, भिडभाड हुने स्थान लगायतलाई सुरक्षा क्षेत्रका रूपमा पहिचान गरेर प्रहरी खटाएको छ। काठमाडौंलाई सुरक्षित सहर बनाउन आम नागरिकको सावधानी आवश्यक रहेको भन्दै प्रहरीले विशेष सूचना पनि जारी गरेको छ।