प्रधानन्यायाधीश राउतले आज शपथ लिँदै, डेढ वर्ष न्यायालय हाँक्ने

काठमाडौँ, २० असोजः  नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आज हुने भएको छ । राष्ट्रपति भवनमा आज  १:३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवासले जनाएको छ । राउत नियुक्त भएको पत्र हिजै प्राप्त भई  आइतबार शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले आजै कार्यभार सम्हाल्ने कार्यक्रमको लागि तयारी गरिरहेको छ ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ । बिदाकै दिन भए पनि आज राउतले पदभार ग्रहण गर्न लागेका हुन् ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गए राति १२ बजेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि सर्वोच्च अदालतले वेबसाइटबाट उनको तस्बिर हटाएको छ । राउत प्रधानन्यायाधीश नियुक्त भएपछि उनको निवासमा बधाई र शुभकामना दिनेहरूको भिडभाड छ । 

संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो । असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए।

२०७३ सालमा कानुन व्यवसायी पृष्ठभूमिब एकैपटक सर्वोच्च अदालत प्रवेश गरेका राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्। उनी नेपाली कांग्रेस पृष्ठभूमिका हुन् । उनले डेढ वर्ष न्यायालयको नेतृत्व गर्नेछन्।