क्यानडा एचपीसँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल २० रनले विजयी

क्यानडाको ‘ए’ टिम अर्थात् क्यानडा एचपीसँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल २० रनले विजयी भएको छ । जारी अभ्यास श्रृंखलामा क्यानडा एचपीविरुद्ध नेपालको यो पहिलो जित हो ।

पहिलो खेलमा नेपाल तीन विकेटले स्तब्ध भएको थियो । उक्त खेलमा खराब ब्याटिङका कारण नेपाल पराजित हुन पुगेको हो । दोस्रो अभ्यास खेलमा जित निकाले पनि नेपालको ब्याटिङमा भने खासै सुधार देख्न पाइएन ।

टस जितेर ब्याटिङ रोजेको नेपाल दोस्रो अभ्यास खेलमा ४६.१ ओभरमा १७६ रनमा अलआउट भयो । दोस्रो खेलमा पनि नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन् । 

यस अभ्यास म्याचमा कप्तानको जिम्मेवारी सम्हालेका सोमपाल कामीले ३३ बलमा दुई चौकासहित सर्वाधिक ३१ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले २७, अनिलकुमार साहले २५, आरिफ शेखले १८, भीम सार्कीले १६ र देव खनालले १५ रन बनाए ।  १ सय ७७ रनको लक्ष्य पछ्याएको एचपी क्यानडा ४५.३ ओभरमा १५६ रनमा समेटियो ।

उसका लागि ओलिभर कक्सले ३९, मुनिर अहमदले ३६, युवराज शर्माले २३, कप्तान अलि नदीमले २० तथा विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए । एचपी क्यानडाको टिमलाई १५६ रनमै अलआउट गर्नेक्रममा नेपालका लागि बलिङमा ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनसहित २४ रन दिएर २ विकेट लिए ।

यस्तै, गुलशनकुमार झाले ७ ओभरमा २७ रन दिएर २ विकेट नै हात पारे । दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र रिजन ढकालको नाममा एक/एक विकेट रह्यो । नियमित कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र करण केसीले भने दोस्रो अभ्यास म्याचमा पनि विश्राम पाए ।

नेपाल र एचपी क्यानडाबीचको तेस्रो खेल सोमबार हुनेछ । नेपाली टिम अमेरिका भ्रमणको तयारीको स्वरूप क्यानडाको दोस्रो रोजाइको टोलीसँग अभ्यास म्याच खेलिरहेको हो ।

अमेरिकामा रहँदा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्ने तालिका छ ।