माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौँ, २० असोजः पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्। 

गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी ३० वर्षीय ऋषि लम्तरीको मृत्यु भएको हो। 

उनको उपचारको क्रममा गएराति नै भलुही मेडिकल कलेज रुपन्देहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए। 

लम्तरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। सोही मोटरसाइकलको पछाडी सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ दस नम्बर टोल निवासी २९ वर्षीय विवेक गुरुङ गम्भीर घाइते भएका छन्। उनको भलुही मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको बोहराले बताए। 

दुर्घटनापछि प्रहरीले माइक्रोबस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।