बोलीको भर नभएका प्रचण्ड !

काठमाडौँ, २० असोजः  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीको ठेगान नभएका नेता हुन्। बोलीकै ठेगान नभएकाले होला उनलाई खेलकुदमा विभिन्न नामले चिनिन्छ। कसैले उनलाई कलाकार भन्छन् । फिल्म क्षेत्रमा हुँदा अधिकांश फिल्ममा खलनायकको भूमिका निर्वाह गरेकाले उनलाई केही खेलकुदका खलनायक भन्न रुचाउँछन्।  

शक्ति क्षयीकरण हुँदा पार्टीको एकल बलमा आफै चुनाव लड्न सक्ने स्थितिमा छैनन् प्रचण्ड। उनी हरेक चुनावमा निर्वाचन क्षेत्र फेरिरहेका छन्, फरकफरक दलसँग गठबन्धन गरिरहेका छन्।तर, कांग्रेस र एमालेसँग अदलबदल गठबन्धन गरेको चानचुन डेढ वर्षको सत्तारोहण गुमाएपछि प्रचण्ड अचेल अनेकथरी बोल्दै हिँडेका छन्। कांग्रेस र एमालेबीच गठबन्धन हुँदा उनले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढालियो भन्ने आरोप लगाए। अझ संविधान संशोधनको विषय उठाउँदा समानुपातिक प्रणाली खारेज गर्न लागियो भन्दै भ्रम छरे।

तिनै प्रचण्डले शनिबार घोषणा गरिदिए, आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने छ। माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले  भने, ‘विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुग्यो। अब देशव्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको छ, त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने छ।’

आगामी मंसिरमा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ, यो उपनिर्वाचनमा गठबन्धन गर्नका लागि उनलाई ठूला दल, कांग्रेस र एमाले मात्र होइन रास्वपाको पनि साथ हुने छैन। ससाना दलसँग गठबन्धन गर्नुको पनि कुनै औचित्य छैन। किनकी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपासँग अहिले जनमत नै छैन। 

प्रचण्डले थाहा पाएका छन् कि उपनिर्वाचनमा गठबन्धन गर्नुको अर्थ छैन। तर, ०८४ को चुनावमा भने उनले गठबन्धन नगरी सुख पाउने छैनन्, शक्ति कायमै राख्ने हो भने । नत्र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीझैँ राष्ट्रिय दलसमेत नबन्ने निश्चित छ।

मुख्य दुई दल कांग्रेस र एमालेले आगामी निर्वाचनमा गठबन्धन नगर्ने नीति अंगीकार गरेका छन्। कांग्रेसले त केन्द्रीय समिति बैठकबाटै  निर्णय गरेको छ। ०८४ को निर्वाचन अघि नै कांग्रेसमा नेतृत्व हेरफेर हुनेछ। आगामी नेतृत्व कस्तो आउछ, त्यसले असर गर्नेछ, चुनावी गठबन्धनबारे।

एमाले महासचिव शंकर पोखरेलले त मुलुक दुई दलीय प्रणालीमा जानुपर्ने बताइरहेका छन्। यो भनेको राष्ट्रिय दल बन्न थ्रेसहोल्ड बढाउने हो। कुल मतको ५ प्रतिशत मत नल्याए राष्ट्रिय दल बन्दैन। अब यो थ्रेसहोल्ड बढाउने तयारी कांग्रेस र एमालेको छ।यस्तो अवस्थमा क्षयीकरण हुँदै गएको माओवादी र साना दलबीच एकता हुनसक्छ। वा माओवादीले एमालेसँग फेरि एकता गर्न सक्छ। होइन भने प्रचण्डले भनेजस्तो माओवादी एक्लै चुनाव लड्न सक्ने स्थिति छैन।

०७९ को चुनावमा कांग्रेसको साथ पाउँदा पनि प्रचण्डले चितवनबाट चुनाव लड्ने आटसमेत गरेनन्। रास्वपा सभापति रवि लामिछानेले जित्ने पक्का देखेपछि उनले गोरखा रोजेका थिए। हुन त यसअघि उनले कीर्तिपुर, रोल्पा, चितवन र सिरहाबाट चुनाव लडेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं छाडेर रौतहट पुगे। जसपा अध्यक्ष उपेन्द्र यादवलाई उनकै गृहजिल्लामा जनमतका अध्यक्ष सिके राउतले हराइदिए।

३२ सिटमा खुम्चिएको माओवादी अब आगामी निर्वाचनमा सानो हुने आकलन माओवादीकै नेताहरुले गरिरहेका छन्।प्रचण्ड ३० वर्षदेखि माओवादीको नेतृत्वमा छन्। उनले माओवादी सानो भएको दोष आफू लिँदैनन्, अरुमाथि थोर्पछन्। अहिले माओवादीको शक्ति गुमेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ।