दक्षिणकाली नगरपालिकाले ललितपुरमा पठायो खानेपानी

दक्षिणकाली नगरपालिकाले आफ्नो क्षेत्राधिकारमा रहेका मुहानबाट ललितपुर जिल्लाका अन्य स्थानीय तहमा खानेपानी पठाएको छ । खानेपानीमन्त्री प्रदीप यादव शनिबार दक्षिणकाली नगरपालिका पुगेर त्यहाँका मुहानबाट पानी जिल्लाको अन्य क्षेत्रमा पठाउनका लागि सहयोग गर्न जनप्रतिनिधि र स्थानीयहरूलाई आग्रह गरेका थिए ।

मन्त्री यादवलगायतको संघीय सरकारका अधिकारीहरूको टोलीले छलफल गरेपछि दक्षिणकाली नगरपालिकाले ललितपुरका अन्य क्षेत्रमा पानी पठाउन थालेको खानेपानी मन्त्रालयले जानकारी दिएको छ । दक्षिणकाली नगरपालिकाभित्रका मुहानबाट भैँसेपाटीको ट्यांकीमा पनि पानी झर्न थालेको मन्त्री यादवले जानकारी दिए ।

दक्षिणकाली नगरपालिकाका स्थानीयका कतिपय माग पूरा गर्ने प्रतिबद्धता मन्त्री यादवले गरेपछि कुटुरी मुहानबाट पानी पथान्तरण गरी केयुकेएल भैँसीपाटीको खानेपानी टयांकीमा पानी अइपुगेको बताइएको छ ।

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले भनिन्, 'तत्काललाई दसैंसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने, पूर्णिमाको पर्सिपल्ट पुन: बैठक बसेर सम्पूर्ण क्षतिको लागत अनुमान तयारी गरी ललिपुर महानरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के-के काम गर्न सकिन्छ सो विषयमा सम्झौता पत्र तयार गरी हस्ताक्षर गर्ने सहमती भएको छ ।

केयुकेएल, भैँसीपाटीको खानेपानी टयांकीमा पानी आइपुगेकाले अब चाडै उपभोक्तालाई वितरण गरिने बताइएको छ ।

मन्त्री यादवले हालैको बाढीपहिरोले थुप्रै खानेपानी योजनाहरूमा क्षति पुर्‍याएको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट पानी जाने व्यवस्था अवरुद्ध भएको बताउँदै ललितपुरबासीलाई सहयोग गर्न दक्षिणकालीवासीलाई आग्रह गरेका थिए ।