भारतीय सेनाका मेजर जनरल ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगन ६ दिने नेपाल भ्रमण सकेर स्वादेश फर्किए

भारतीय सेनाका मेजर जनरल तथा ३ गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण सकेर स्वादेश फर्किएका छन् । गत १४ असोजमा काठमाडौ आएका मेजर जनरल देवगनले १९ असोजमा भ्रमण सम्पन्न गरेका हुन् ।

मेजर जनरल देवगनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उनले नेपाल भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेट तथा पोखरा भ्रमण गरे ।

पोखरामा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे । नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरे । उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिए ।

भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरे । नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा प्रधानसेनापतिसँग संवाद भएको दूतावासले जनाएको छ ।

मेजर जनरल देवगनको भ्रमण सफल र फलदायी रहेको भारतीय दूतावासले जनाएको छ । उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरेको दूतावासले जनाएको छ ।