जिनेभामा प्रदर्शन गरिँदै गाजाका सांस्कृतिक सम्पदा

गाजापट्टीका पुरातात्विक सम्पदा जिनेभामा प्रदर्शनमा राखिएका छन् ।  स्विस सहरले एक वर्षको युद्धले ध्वस्त भएको क्षेत्रको सम्पदाको रक्षा गरिरहेको छ । 

कला र इतिहास सङ्ग्रहालय (एमएएच) मा आयोजित “खतरामा रहेका सम्पदा” प्रदर्शनीमा गाजामा फेला परेका ४४ वटा वस्तुमध्ये एम्फोरा, मूर्तिहरू, फुलदानी, तेलका बत्ती र मूर्तिहरू प्रदर्शनमा राखिएका छन् । 

“यो गाजाको आत्माको अंश हो। यसको आफ्नै पहिचान छ”, प्रदर्शनीको क्युरेटर बीट्रिस ब्लान्डिनले बताउनुभयो, “सम्पदा वास्तवमा यस भूभागको इतिहास हो, त्यहाँ बस्ने मानिसहरूको इतिहास हो।” शनिबारदेखि फेब्रुअरी ९ सम्म चल्ने प्रदर्शनीमा सुडान, सिरिया र लिबियाका कलाकृतिहरू पनि समावेश छन् । 

सशस्त्र द्वन्द्वको घटनामा सांस्कृतिक सम्पत्तिको संरक्षणका लागि सन् १९५४  हेग अधिवेशनको ७०औँ वार्षिकोत्सवको अवसरमा यो प्रदर्शनी आयोजना गरिएको हो । द्वन्दवको समयमा यस्ता सांस्कृतिक सम्पत्तिलाई क्षति, लुटपाटबाट जोगाउने सङ्ग्रहालयको जिम्मेवारी र आगन्तुकलाई जानाजानी सम्पदा नष्ट गर्नु युद्ध अपराध हो भनेर सम्झाउँने उदेश्यका साथ यो प्रदर्शनी आयोजना भएको हो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा इजरायलको आक्रमण सुरुभएदेखि प्यालेस्टिनी क्षेत्रका सांस्कृतिक सम्पदाले भारी मूल्य चुकाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सङ्गठनले जनाएको छ । युनेस्कोले युद्धका कारण गाजाको १० वटा धार्मिक स्थल, ४३ वटा ऐतिहासिक र÷वा कलात्मक चासोका भवन, दुईवटा चल सांस्कृतिक सम्पत्तिका भण्डार, ६ वटा स्मारक, एउटा सङ्ग्रहालय र ७ वटा पुरातात्विक स्थलसहित ६९ वटा सम्पदाहरु क्षति भएको पुष्टि गरेको छ । 
 
प्यालेस्टिनी सांस्कृतिक सम्पदा “अभूतपूर्व विनाशको सिकार भएको समयमा जिनेभामा राखिएका गाजाका वस्तुहरूको पैतृक मूल्य पहिलेभन्दा बढी देखिन्छ”, एमएएचले भन्यो।