एसिया रग्बी : पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सलाई

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरुष र महिला दुवैतर्फको उपाधि फिलिपिन्सले हात पारेको छ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ फिलिपिन्सले चाइनिज ताइपेई र महिलातर्फ भारतलाई हराउँदै उपाधि जितेको हो।

जितसँगै दुवैतर्फ फिलिपिन्सले सन् २०२५ मा हुने एसिया रग्बीको ट्रफीमा स्थान सुरक्षित गरेको छ। दोस्रो हुने चाइनिज ताइपेई र भारतले रजतमा चित्त बुझाएको छ। पुरुषतर्फ सेमिफाइनलमा श्रीलंकालाई १९–१२ ले पराजित गर्दै फिलिपिन्सले फाइनलमा स्थान बनाएको थियो।

चाइनिज ताइपेईले भने उज्बेकिस्तानलाई २४–० ले पाखा लगाउँदै फिलिपिन्ससँगको भेट पक्का गरेको हो। सेमिफाइनलमा एकपक्षीय जित निकाले पनि चाइनिज ताइपेईले फाइनलमा सोही लयलाई कायम राख्न सकेन। सुरुआतदेखि नै दबाब झेलेको चाइनिज ताइपेईले फिलिपिन्सलाई २७–१४ को सहज स्कोर सुम्पियो। पुरुषतर्फ श्रीलंका तेस्रो भयो। उसले उज्बेकिस्तानविरुद्ध ३२–० को सहज जित हासिल गर्‍यो।

पुरुषको तुलनामा महिलातर्फ उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। यद्यपि, बाजी भने फिलिपिन्सले ७–५ को स्कोरले मार्‍यो। फिलिपिन्सले एक कन्भर्जन किकसहित सुरुमै सात अंक बटुलेको थियो। तर, भारतले पनि पुनरागमन गर्ने मौका प्राप्त गर्‍यो। ट्राई गरेर ५ स्कोर हात पारेपछि भारतले दोस्रो हाफमा कन्भर्जन किक प्राप्त गरेको थियो। तर, कन्भर्ट भने गर्न सकेन। त्यसैले भारत उपविजेतामा सीमित बन्न पुग्यो।

फिलिपिन्सले सेमिफाइनलमा इन्डोनेसियालाई १९–१० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। भारतले भने गुवाममाथि २४–७ को एकपक्षीय जित हासिल गर्दै फिलिपिन्ससँगको उपाधि भिडन्त पक्का गरेको थियो।

महिलातर्फ नै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भने गुवाम बलियो साबित भयो। एक समय १७–१९ ले अघि रहेको स्थितिमा गुमामले ट्राईमार्फत ५ स्कोर हात पार्‍यो। त्यही ट्राईमार्फत हात लागेको स्कोरसँगै गुवामले २२–१९ ले खेल आफ्नो पक्ष्यमा पार्‍यो।