काँग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बिग्रियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन् ।

केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका नेताहरूले देशलाई बिगारेको उनको जिकिर थियो । झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए ।

उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने बताए । अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरूको बिगबिगी रहेको पनि बताए ।

उनले भने ‘२०४६ सालदेखि अहिलेसम्म यो झन्डै ३५ वर्षको समयमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष रुपमा १८ महिना शासन चलाएको बाहेक सबै समय यो देशमा सरकार कसले चलाएको छ ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिएपनि कसले चलाएको छ देश ? यही काँग्रेस, यही एमाले, यही माओवादीहरूले देश चलाएका छन् । र बितेर गएको गिरिजाप्रसाद कोईराला, सुशील कोईराला, मनमोहन अधिकारी बाहेक त्यही केपी ओली, त्यही प्रचण्ड र त्यही शेरबहादुर देउवाको नेतृत्वमा यो देश चलिराखेको छ । ३५ वर्षमा देशको अवस्था कहाँबाट कहाँ पुग्यो । उनीहरु जसरी सत्ताका लागि प्रमुख दलहरू अथवा पहिलो र दोस्रो दल मिल्न सक्छन् । तर तपाईँको भविष्यको लागि, देशभित्र नै रोजगारी सृजना गर्नका लागि उनीहरु मिल्न सक्दैन थिए । युवाहरूलाई यही देशमा बस्न सक्ने वातावरण बनाउन सकिने थिएन होला । म आज दाबी साथ भन्छु–राप्रपा जस्तो पार्टीले देश चलाउन पाउने हो भने ५ वर्ष भित्रमा देख्न सकिने र १० वर्ष भित्रमा भोग्न पाउने वातावरण निर्माण गर्न सकिनेछ । विदेश जाने सबैलाई रोक्न सकिनेछ त भन्दिन तर ५ देखि १० वर्ष भित्रमा ४०/५० हजार तलबका लागि कुनैपनि युवाले विदेश जान नपर्ने परिस्थिति यही देशमा निर्माण गर्न सकिन्छ । र, हाम्रा कुनै पनि विद्यार्थीहरूले राम्रो विषय पढ्नका लागि, गुणस्तरीय शिक्षाका लागि विदेश जाने होइन । आज जसरी बङ्गलादेशमा डाक्टर पढ्नका लागि हाम्रा विद्यार्थीहरू गइराखेका छन । नेपालको डाक्टर पढ्नका लागि बङ्गलादेशी र भारतीयहरूलाई नेपालमा व्यवस्था मिलाउन सकिन्छ । देश भावनाले मात्रै बन्दैन । देश तपाई एक्लैले राम्रो सोचेर पनि बन्दैन । तपाई हामी सबै जुट्नु पर्छ, अनि मात्रै देश बन्छ । किनभने देश बनाउने भनेको कुनै एउटा क्लबले होइन । देश बनाउने राजनीतिले नै हो । आज देश बनेको छैन । राजनीतिमा भ्रष्ट र बेइमानहरूको बिगबिगी छ । र आज भ्रष्टाचारीहरूले देशका सिन्डिकेट खडा गरेर राखेका छन् ।’

अध्यक्ष लिङदेनले मुलुक भ्रष्टाचारीहरूले सिन्डीकेट खडा गरेर बसेको पनि बताए ।