बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्लाको ताजाँकोट गाउँपालिका–२ पुईमामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

शनिबार दिउँसो कर्णाली करिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको हो। 

गियर बक्स बिग्रेर रोकेको अवस्थामा  सडकबाट ब्याक भई ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए। 

उक्त जिपमा चालक सहित सात जना सवार थिए। 

गियर बक्स बिग्रेपछि पाँचजना गाडीबाट झरेर जिप बनाएरहेका थिए। तर, मृतक दुईजना  गाडीमै थिए।  अचानक गाडी ब्याक भएर उक्त घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राजा बस्ने वर्ष ४९ कि विष्णु परियार र हुम्लाको चंखेलि गाउँपालिका-६ का ५ वर्षीय अविशेक बुढा रहेका छन्।

बुढा विष्णुसँग नेपालगञ्ज मामा घरमा दसैँ मान्न जान लागेका थिए।