कोदो उत्पादक किसानलाई प्रोत्साहन

काठमाडौं, १९ असोजः रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरुको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ । 

दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो । कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादन तर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । 

पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ । किसानलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यष ठकुरीले बताउनुभयो । 

अनुदान पाउनका लागि कम्तिमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ । कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र भाडामा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेश गर्नुपर्ने पालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष विसं २०८१÷८२ बाट लागु भएको यो कार्यक्रमलाई वर्षेनी वृद्धि गर्दै लैजाने पालिकाको योजना छ । 

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला–ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ । कोदोको माग बढ्दै जानथालेपछि व्यावसायिक रुपमा कोदोको खेती गर्न तर्फ कृषकलाई आकर्षण गर्न अनुदान मुलक कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदोखेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । 

धान, मकै, गुहँ लगायतका बालीजस्तै कोदोमा यान्त्रिकिकरणको विकास हुन नसक्दा कोदोखेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताउनुभयो । पालिकाले प्रोत्साहन स्वरुप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ । 

यसअघि कृषि ज्ञान केन्द्रले पनि रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो । केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ । कोदोखेती गर्ने कृषकलाई यान्त्रिकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको थियो । 

पर्वतमा गत आर्थिक वर्षशाा आठ हजार तीन सय १० मेट्रिकटन कोदो उत्पादन भएको थियो । त्यसमध्ये पाँच हजार एक सय ७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसबाट रु २३ करोड २८ लाख ७५ हजार भित्र्याएको थियो । उत्पादित कोदोमध्ये तीन हजार एक सय ३५ मेट्रिकटन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैंसीको दानाका रुपमा प्रयोग गरेका थिए । 

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाका सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ । 

मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगबाट पिडितहरुले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो । पछिल्लो समय कोदोको बिस्कुटसमेत बजारमा उपलब्ध रहेको छ ।