बिल विजकभन्दा बढी प्याज ल्याउने दुई वटा भारतीय ट्रक प्रहरीले नियन्त्रणमा

जारी प्रज्ञापन (विल विजक) भन्दा बढी प्याज ल्याउने दुई वटा भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार कपिलबस्तु नगरपालिका –२ बर्दहवास्थित मर्यादपुर तौलिहवा सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको यु पि ५५ टि ७६४५ र यु पि ४० टी ९०९० नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

उक्त ट्रकले भन्सार बिल विजकभन्दा बढी परिमाणको प्याज लोड गरी ल्याउदैगरेको गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । दुई वटै ट्रकलाई नियन्त्रणमा लिइ नापतौल गर्दा भन्सार बिल बिजकभन्दा ७.२३ टन बढी प्याज लोड गरेको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । 

दुबै ट्रकमा लोड गरिएको हालको बजार मूल्यअनुसार ५७ लाख ७३ हजार मूल्य बराबरको ५७ हजार ७३० किलो प्याज र सो प्याज लोड गरिएका दुबै ट्रक तथा चालकलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उहाँको भनाइ छ । बजारमा अहिले प्रतिकिलो एकसयको दरले प्याज विक्री भइरहेको छ ।