इतिहास बन्दै चङ्गा चेट

 शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । 

यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दसैँ पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरू मध्ये चङ्गा उडाउनु पनि एक हो । सो कारण अझै केटाकेटीहरूलाई त झनै दसैँको महत्त्व धेरै हुन्छ । दसैँ आएपछि साना केटाकेटीहरू धेरै खुसी हुन्छन् ।

केटाकेटीहरू नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौँ उपत्यका बाहिरका सहर र गाउँहरूमा पनि दसैँमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौँ उपत्यकामा यो प्रचलन बढी रहेको छ ।

दसैँमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दसैँमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो । दसैँमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्‍याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

दसैँमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दसैँ आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ । चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दसैँताका झरी पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैत वैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।

त्यस्तै दसैँमा स्कुल कलेजहरू धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरूलाई पढाई लेखाइको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाउँदा उनीहरूको खुसीको सीमा नै हुँदैन । दसैँको आगमनसँगै कागेश्वरी मनोहराको कृष्ण मन्दिर क्षेत्रमा चङ्गा उडाउँदै स्थानीय युवा र केटाकेटीहरू ।