काउली उत्पादनले घरखर्च चलाउन सहज

काठमाडौं, १९ असोजः काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

जिल्लाको  के आईसिंह  गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आउनुभएको छ । उहाँको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै उहाँले गतवर्ष रु दुुई लाख ५० हजार आम्दानी गर्नुभयो । यसवर्ष पनि बारीमा करिब रु चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताउनुभयो ।  गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उहाँको भनाइ छ । 

“घरखर्च चलाउन विदेश जानुपरेको छैन । काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ”, धामीले भन्नुभयो ।

के आई सिंह गाउँपालिका–४ का डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाउनुभएको काउली बेचन तयार भइसकेको छ । उहाँले गत वर्ष एक रोपनीमा लगाएको काउलाीबाट करिब रु एक लाख आम्दानी गरेको बताउनुुभयो । यसवर्ष पनि बारीमा लगभग रु  दुई लाख बराबारको काउली तयार भएको छ ।    

परम्परागत खेतीको तुलनामा आधुनिक  खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले बताउनुुभयो । पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उहाँले बताउनुुभयो ।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल  हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दैआएका बताउनुहुन्छ । गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उहाँले बताउनुुभयो । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताउनुभयो ।