नेपाली‌ टोलीकाे  कमजोर ब्याटिङ निरन्तर, क्यानडा हाइप्रफमेन्ससँग ३ विकेटले पराजित

 कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाली‌ टोली क्यानडामा फेरि पराजित भएको छ ।

क्यानडामा भएको शुक्रवार भएको ५० ओभरको अभ्यास खेलमा नेपाली टोली क्यानडा हाईप्रफमेन्ससँग ३ विकेटले पराजित भएको हो ।

१ सय ४४ रनको सामान्य लक्ष्य क्यानडा हाइप्रफमेन्स टिमले ३६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि युवराज शर्माले ४४, कप्तान शुभम शर्माले २७, गुरसाहिब सिंहले १७ तथा ओलिभर कक्सले १६ रन जोडे ।

नेपालका लागि अनिलकुमार शाहले ४, कप्तान सोमपाल कामी, रिजन ढकाल, ललित नारायण राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा अल आउट हुदै १ सय ४३ रन मात्र बनाउन सक्यो । जसमा अनिलले ३४, अर्जुन साउदले ३३, कुशल भुर्तेलले २५ तथा आरिफ शेखले २३ रन जोडे ।

एकसमय ७४ रनमा कुनै विकेट नगुमाएको नेपालले बाँकी १० विकेट ६९ रन जोड्दा गुमायो ।

क्यानडा हाईप्रफमेन्सका लागि शाहिद अहमदजाइले ७.४ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । राना सलमान घानीले २ तथा गुरपाल सिन्धु र इरफान सदातले समान १ विकेट लिए ।

विश्वकप लिग टुका लागि अमेरिका जानु अघि नेपालले अभ्यास खेल खेलेको हो ।