फिल्म ‘स्त्री २’ ५१ दिनमा, अहिलेसम्म कति कमायाे ?

 बलिउड अभिनेत्री श्रद्धा कपुर र अभिनेता राजकुमार रावको चलचित्र ‘स्त्री २’ ले बक्स अफिसमा इतिहास रच्न सफल भएको छ । सिनेमाले शुक्रबार रिलिज भएको ५१ दिन पूरा गरेको हो ।

यो चलचित्रले घरेलु बक्स अफिसमा ५०० करोडको आँकडा पार गरिसकेको छ र अब ६०० करोड क्लबमा सामेल हुन संघर्ष गरिरहेको देखिन्छ । तर, ‘स्त्री २’ ले ६ सय करोड कमाउन सक्छ कि सक्दैन भन्न गाह्रो छ किनभने अहिले फिल्मको कमाई लगातार घटिरहेको छ ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा ‘स्त्री २’ हलमा रिलिज भएको थियो । फिल्मले पहिलो साता २९१.६५ करोड कमाएको थियो भने दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले आफ्नो दमदार कमाईलाई निरन्तरता दिँदै १४१.४ करोड कमाएको थियो।

यसैगरि ‘स्त्री २’ ले तेस्रो साता ७०.२ करोड कमाइसँगै चौथो हप्तामा यसको कमाई ३६.१ करोड रुपैयाँ थियो ।

६० करोडको बजेटमा बनेको ‘स्त्री २’ ले पाँचौं हप्तामा २४ करोड ६५ लाखको व्यापार गर्न सफल भएको थियो । छैठौं हप्तामा १८.६ करोड रुपैयाँ संकलन गरेको यो चलचित्रले सातौं हप्तामा ९.३५ करोड रुपैयाँ कमाएको थियो ।

अमर कौशिक निर्देशित यो चलचित्रको ५१ औ दिनको कलेक्शनको कुरा गर्दा कमाईमा गिरावट आएको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार ‘स्त्री २’ ले रिलिजको ५१ औं दिनमा ५० लाख रुपैयाँ कलेक्सन गरेको छ । यसरी फिल्मको हालसम्म कुल कमाई ५९२.४५ करोड भारु भएको छ । यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने हरर कमेडी फिल्म साबित भएको छ । तर, हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म बन्नका लागि ६ सय करोडको आँकडा पार गर्नैपर्ने र ‘जवान’को रेकर्ड तोड्नैपर्छ जुन कठिन देखिन्छ ।

अब हेर्न बाँकी छ, यो फिल्मले ६०० करोड क्लबमा प्रवेश गर्न सक्छ कि सक्दैन ? ।

‘स्त्री २’ को कुरा गर्दा यो फिल्म बक्स अफिसमा एक्लै आएन । यसले अक्षय कुमार र जोन अब्राहम जस्ता स्टारहरू अभिनित फिल्म ‘खेल खेल मे’ र ‘वेद’सँग प्रतिस्पर्धा गरेको थियो। तर, ‘स्त्री २’ ले दुवै फिल्मलाई निकै पछाडि छोड्यो । यो चलचित्रको जादु स्वदेशमा मात्र नभई विदेशमा पनि चलिरहेको छ । यस फिल्ममा श्रद्धा कपूरका अलावा राजकुमार राव, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जी जस्ता स्टार देखिएका छन् ।