बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग

काठमाडौँ, १९ असोजः  आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो ।

सो सिफारिस अनुसार शुक्रबार नै बसेको मन्त्रिपरिषद्को बैठकले १४ जिल्लाका बाढी पहिरोले क्षति ग्रस्त स्थानीय तहलाई संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ ।सोलगत्तै पूर्वमन्त्री साहले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवार एवं सम्प्रदायिकताको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरेका छन् ।

साहले बाढिबाट मधेश प्रदेशका जिल्लाहरु अति प्रभावित बनेको र अहिलेपनि हजारौंको संख्यामा मधेशका नागरिक विस्थापित हुनु परेको बताएका छन् । रौतहट, सप्तरी, सर्लाही, धनुषा, सिराहाका जनता अहिलेपनि बाढीबाट प्रत्यक्ष प्रभावित बनेको सुनाउँदै उनीहरुलाई विभेद गर्नु राज्यको चरम लापरवाही र उदासिनता भएको उनको टिप्पणी छ ।

सरकारले घोषणा गरेका संकटग्रस्त १४ जिल्लामा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेका छन्।