सल्यानमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालन

काठमाडौँ, १९ असोजः सल्यानमा चाडपर्वलक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका चार मुख्य स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । 

चाडपर्वमा जिल्लावासी र यात्रुको सहजताका लागि प्रहरीले नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालन गरेको जनाएको छ । चाडपर्वका समयमा जिल्लावासी तथा यात्रुले सिटमा बस्न नपाउने, तोकेको भन्दा बढी भाडा तिर्नुपर्ने, उभिएर सवार गर्नुपर्ने मात्र नभई विभिन्न किसिमका दुव्र्यवहार सहनु जस्ता समस्या भोग्दै आएकाले यो वर्षमा त्यस्ता समस्या बेहोर्नु नपरोस् भनी नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले चाडपर्वका समयमा भोग्नु परेका समस्याबारे नागरिक तथा गाडीमा सवार गर्ने यात्रुले उक्त कक्षमा गुनासो राख्न पाउने र सोही गुनासोका आधारमा देखिएका समस्या तत्काल समाधान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार नागरिक तथा यात्रु सहायता कक्षले चाडपर्वमा हुने चोरी, झैझगडासमेत नियन्त्रण गर्नमा मद्दत पुग्ने छ ।

यस्तै चाडपर्वलक्षित सल्यान जिल्ला प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । चाडपर्वमा आपराधिक घटना हुन सक्ने भन्दै प्रहरीले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको हो । मुख्य स्थानलाई केन्द्रित गरेर जिल्लाभर ३५ युनिटबाट ३६६ प्रहरी परिचालन गरिने भएको छ । चाडपर्वका समयमा हुन सक्ने लुटपाट तथा ठगीका घटनालाई हेरेर सार्वजनिक यातायातका साधनमा आवश्यकता अनुसार सादा पोसाक तथा हातहतियारसहितका प्रहरी परिचालन गरिने प्रहरीले बताएको छ ।

सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जिल्लाका मुख्य नाकामा २४ सै घण्टा प्रहरी टोली तैनाथ गरी सवारीसाधन तथा यात्रुको जाँच गरिने बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सल्यानले सुरक्षा योजना तयार पारी १० वटै स्थानीय तहमा लागु गरेको छ । सुरक्षा योजनामा बजार क्षेत्रमा मोबाइल गस्ती, पैदल गस्ती २४ सै घण्टा परिचालन गरी सिसी क्यामराबाट निगरानी गरिएको छ ।