बाढीपहिरोमा परी घाइतेमध्ये १०८ जनाको शल्यक्रियाबाट उपचार

हालैको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक सय आठजनाको शल्यक्रियाबाट उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शल्यक्रिया गरिएकामध्ये ३५ जनाको उपचार भइसकेको र ७३ जना डिस्चार्ज हुने क्रममा छन्। घाइतेमध्ये पाँच सय ६२ जनाको बहिरंग विभागमा उपचार गरिएको र एक सय आठजनालाई भर्ना गरी शल्यक्रिया नै गर्नुपरेको मन्त्रालयले जनाएको छ।

बाढीपहिरोका सबै घाइतेको उपचार निःशुल्क भइरहेको मन्त्रालयले जनाएको छ। बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारजनप्रति मन्त्रालयले समवेदना व्यक्त गरेको छ। विपद्मा घाइते बनेका र अन्य स्वास्थ्य समस्या भएकाको उपचारका लागि सरकारले स्वास्थ्य आपतकालीन केन्द्रमार्फत उपचार गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

बाढीपहिरोपछि सरुवा रोगहरूको जोखिम भएकाले सजक हुन मन्त्रालयले सबैलाई अपिल गरेको छ। मन्त्रालयले यस्तो अवस्थामा कीटजन्य, कीटाणुजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक रोगजस्ता समस्या देखिन सक्ने भएकाले जनचेतना जगाउने कार्यक्रम गर्न पनि अपिल गरेको छ।

जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मी परिचालनका निम्ति आपतकालीन केन्द्रमार्फत व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।