नेपालका पूर्वराजा र भुटानका पूर्वराजाबीच भेट

सत्र वर्षअघिसम्म दक्षिण एसियामा दुई ‘हिमाली अधिराज्य’ थिए, नेपाल र भुटान। संविधान सभाले १५ जेठ २०६५ मा गणतन्त्रको घोषणा गरेपछि दक्षिण एसियामा भुटान मात्रै राजतन्त्रात्मक मुलुकका रूपमा छ। 

गणतन्त्रात्मक मुलुक बने पनि पूर्वराजा ज्ञानेन्द्र शाह मौका मिले शान्तिपूर्ण रूपमा फेरि गद्दीमा फर्कन लालायित छन्। उता भुटानका पूर्वराजा चाहिँ राजपाठ आफ्ना छोरालाई त्यागेर शान्त जीवन बिताइरहेका छन्। २०६३ मंसिरमा आफै गद्दी त्यागेका भुटानका चौथा राजा जिग्मे सिंगे वाङचुक र निर्वाचित संविधान सभा निर्णयपछि गद्दी त्याग गर्न बाध्य नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहबीच शुक्रबार (१८ असोज) भुटानको राजधानी थिम्पुमा भेटवार्ता भएको छ। 

भुटानको डेचेनछोलिङ राजदरबारमा दक्षिण एसियाका यी दुई पूर्वराजाहरूबीच भेटवार्ता भएको हो। काठमाडौँबाट बिहीबार (१७ असोज) ड्रुक एयरलाइन्सको उडानबाट थिम्पु प्रस्थान गर्नुअघि प्रसन्न मुद्रामा देखिएका पूर्वराजा शाह भुटानी समकक्षीसँगको भेटवार्ताको सार्वजनिक भएको तस्बिरमा चाहिँ गम्भीर देखिन्छन्।  

पूर्वराजा जिग्मे सिंगे वाङचुकलाई भेट्नुअघि शाहले भुटानकी ९४ वर्षीया जिजु मुमा बडामहारानी केसाङ छोदेनसँग पनि डेचेनछोलिङ राजदरबारमा भेट गरेका थिए। सो भेटमा पूर्वराजाको भ्रमणदलमा सामेल छोरी पूर्वअधिराजकुमारी प्रेरणा सिंह र भतिजी शीताष्मा शाह पनि सहभागी थिए। राजावादीहरू निकै उत्साहित देखिएको पूर्वराजाको यो भ्रमण खासमा १५ असोजदेखि भुटानमा सुरु भएको गेलेफु माइन्डफुल बृहत् अन्तर्राष्ट्रिय सम्मेलनका सिलसिलामा भएको हो। 

राजप्रासाद सेवाका पूर्वकर्मचारीसमेत रहेका राप्रपाका केन्द्रीय सदस्य सुरेशप्रसाद आचार्यले फेसबुकमा उल्लेख गरेअनुसार पूर्वराजा शाहलाई वातावरणीय संरक्षण क्षेत्रका शिखर व्यक्तित्वका रूपमा भुटान भ्रमणको निम्तो दिइएको थियो। 

पूर्वराजा शाह सम्मेलनको समापन समारोहमा सरिक हुने–नहुने जानकारी नभए पनि थिम्पुबाट २४३ किमी दक्षिणपूर्वमा रहेको ‘गेलेफु माइन्डफुल सस्टेनेबल सिटी’ योजनाको अवलोकन भ्रमण गराइने जानकारी आफूले पाएको पनि आचार्यले उल्लेख गरेका छन्।  

पुलमाथि निर्माण गर्न लागिएको यो आधुनिक सहरको पहिलो गभर्नरका रूपमा १५ असोजमा पूर्वप्रधानमन्त्री डा. लोते छिरिङले नियुक्ति पाइसकेका छन्। भुटानी राजा जिग्मे खेसर वाङचुकले पूर्वप्रधानमन्त्री डा. छिरिङलाई आधुनिक सहरको गभर्नर नियुक्त गरेका हुन्। 

पूर्वराजा शाहको भ्रमण भुटानी राजा वाङचुककै निमन्त्रणामा भएको बताइएको छ। यदि राजा वाङचुकै निमन्त्रणामा भ्रमण भएको हो भने पूर्वराजा शाहले उनीसँग पनि भेटवार्ता गर्नेछन्। त्यसअघि भने भुटानी राजप्रासाद (दरबार) ले पूर्वराजा शाहलाई त्यहाँका पूर्वराजा शाहसँग भेटवार्ता गराएको छ। भुटानका पूर्वराजा वाङचुक र नेपालका पूर्वराजा शाहबीच ९ वर्षको उमेरान्तर छ। पूर्वराजा शाह ७७ वर्षका छन् भने वाङचुङक ६८ वर्षका। पूर्वराजा वाङचुक नजन्मँदै शाह २००७ मा नेपालमा पहिलोपटक राजा भइसकेका थिए। 

दरबार हत्याकाण्डपछि २०५८ जेठमा दोस्रोपटक राजा हुँदा भुटानमा जिग्मे सिंगे वाङचुक नै गद्दीमा थिए। २०६२–०६३ को आन्दोलनको सफलता र माओवादीको खुला राजनीतिमा आउँदा यता राजा ज्ञानेन्द्र शाहको गद्दी धरमराउन थालेको थियो। उता भुटानी राजा वाङचुक पनि राजपाठ त्यागेर शान्त धार्मिक जीवन बिताउने योजनामा थिए। 

नेपालको आन्तरिक राजनीतिमा माओवादीको दबाब बढ्दै जाँदा तत्कालीन व्यवस्थापिका–संसदले २०६३ मा राजतन्त्रलाई निलम्बित गरिसकेको थियो, १५ जेठ २०६५ मा संविधान सभाबाट गणतन्त्र घोषणा हुनुअगाडि नै। तर, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको अन्तिम निर्णय भइनसकेकाले शाह भने नारायणहिटी राजदरबारमै थिए। गणतन्त्र घोषणापछि २९ जेठ २०६५ मा नारायणहिटी छाडेर शाह नागार्जुन दरबारमा बसोबास थालेका थिए। 

नेपाल राजतन्त्र अन्त्य गरेर गणतन्त्रमा जाने सुरसार गरिरहँदा भुटानका चौथा राजा जिग्मेले भने आफ्ना ती छोरालाई राजगद्दी सुम्पे, जसको जन्म पूर्वराजा शाहकी स्वर्गीय आमाको स्मृतिमा थापाथली (काठमाडौँ) मा स्थापना गरिएको स्व. इन्द्रराज्यलक्ष्मी परोपकार अस्पतालमा भएको थियो।