ललितपुरले चितवनलाई हरायो

 काठमाडौँ, १८ असोज : एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आजको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा ललितपुरले चितवनलाई ३–१ सेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै ललितपुरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 

खेलमा पहिलो सेट १९–२५ ले गुमाएको ललितपुरले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पा¥यो । ललितपुरले चितवनमाथि दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१६, तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । 

यस जितसँगै पाँच खेलमा १० अङ्क जोडेको ललितपुर दोस्रो स्थानमा उक्लिएको छ । अब लिग चरणको अन्तिम खेलमा कर्णाली यसभिएसले काठमाडौंँ स्पाइकर्सलाई सोझो सेटमा पराजित गरे ललितपुर फाइनल पुग्नेछ । 

यसअघि काठमाडौँ र मधेस युनाइटेडलाई समान ३–१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३–० तथा गण्डकीसँग ३–२ को सेटमा पराजित भएको थियो । हारसँगै पाँच खेलमा सात अङ्क जोडेको चितवनले चौथो स्थानमा रहेर लिग अन्त्य गरेको छ । यसअघि गण्डकी र मधेशलाई समान ३–१ को सेटमा हराएको चितवन काठमाडौँसँग ३–१ तथा कर्णालीसँग ३–२ को सेटमा पराजित भएको थियो ।

चितवन शक्ति र ललितपुर क्विन्सको खेल दिउँसो ३ः४५ बजे हुने तय भएको थियो तर ट्यालेन्ट हन्टबाट कर्णाली एसभिएस, गण्डकी थन्डर्स र काठमाडौँ स्पाइकर्सले नियमविपरीत खेलाडी छनोट गरेको भन्दै चितवन र ललितपुर कोर्टमा उत्रिन अस्वीकार गरेपछि खेल निर्धारित समयभन्दा ढिलो सञ्चालन भएको थियो । 

कोर्टमा उत्रिन अस्वीकार गरेपछि आयोजक इन्फिनिटी ड्रिम्सले दुवै टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेपछि खेल सञ्चालन भएको थियो । काठमाडौँले ट्यालेन्ट हन्टबाट रितिका भट्ट र कर्णालीले सितासेन ठकुरीलाई छनोट गरेको थियो । तर यी दुवै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेको भन्दै चितवनले आपत्ति जनाएको थियो ।