पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ पुस्तक सार्वजनिक

काठमाडौँ, १८ असोज : लेखक तथा पत्रकार सुशील दर्नालद्वारा लिखित ‘माया पनि बिटुलो’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत दर्नालले लेख्नुभएको सो पुस्तक आज एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले लोकार्पण गर्नुभएको हो । 

पुस्तकमा विशेष गरी दलित समुदायको उत्पत्ति, इतिहास, सो समुदायको पुख्र्यौली पेसा, जातिय भेदभाव तथा छुवाछूत, आर्थिक, राजनीतिक समस्या र दलित-गैरदलितबीच हुने अन्तरजातीय विवाह, प्रेम सम्बन्ध र जातीय कारणले आउने समस्या जस्ता विषय समेटिएका लेखक दर्नालले जानकारी दिनुभयो । 

त्यसैगरी दलित समुदायभित्र पनि गन्धर्व समुदायको अवस्था, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ को कार्यान्वयनको अवस्था, दलित समुदायले पाउँदै आएको आरक्षण, सार्क मुलुकमा दलित समुदायभित्र पनि दलित महिलाले भोग्नुपरेको समस्या, बादी महिला र संघर्षका कथा÷व्यथालाई पुस्तकमा समावेश गरिएका छन् । साथै इतिहास रच्ने दलित नेपाली महिला, संसद्मा दलित प्रतिनिधित्वको अवस्था, निजामती सेवामा दलित महिलाको अवस्था, समावेशीकरण, दलित समुदायका सांसदसँगको अन्तरवार्ता पुस्तकमा रहेका लेखक दर्नालले बताउनुभयो । 

डेढ दशकदेखि राससमार्फत पत्रकारिता गरिरहेका पत्रकार दर्नालको यो दोस्रो पुस्तक हो । पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा ‘स्वर्णपदक’ प्राप्त उहाँले यसअघि ‘राससमा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।