महिला टी-२० विश्वकप : दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले हरायाे

आईसीसी महिला टी-२० विश्वकप २०२४ को उद्घाटन खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले पराजित गरेको छ। ११९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका ओपनरहरू लाउरा वोल्भार्ड्ट ५९ र ताजमिन ब्रिट्स ५७ ले नटआउट अर्धशतक प्रहार गर्दै १७.५ ओभरमै जित सुनिश्चित गरे।

दक्षिण अफ्रिकाले १३ बल बाँकी राख्दै बिना कुनै विकेटको क्षति जित हासिल गर्‍यो। यसअघि, दक्षिण अफ्रिकाले टस जितेर बलिङ रोज्दा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि स्टेफानी टेलरले ४४ रनको योगदान दिइन् भने ननकुलुलेको म्लाबाले घातक बलिङ गर्दै ४ विकेट लिएर वेस्ट इन्डिजलाई ठुलो स्कोर बनाउनबाट रोकिन्।

मारिजाने क्यापले पनि उत्कृष्ट प्रदर्शन गर्दै वेस्ट इन्डिजका कप्तान हेली म्याथ्युज१० र देआन्द्रा डोटिन १३ लाई आउट गरिन्। म्याथ्युजलाई तेस्रो ओभरमा र डोटिनलाई सातौं ओभरमा आउट गर्दै क्यापले वेस्ट इन्डिजलाई ३२-३ को कमजोर स्थितिमा पुर्‍याएकी थिइन्।

म्लाबाले बीचको ओभरहरूमा थप विकेट लिएर वेस्ट इन्डिजको पुनरागमन गर्ने आशालाई निराशामा बदलिदिइन्। उनले शिमेन क्याम्बल १७, चिनेल हेनरी ० र आलिया एलेन ८ लाई आउट गरिन्। अन्तमा, टेलरले नटआउट ४४ रन र जैदा जेम्सले १५ रन बनाएर टोलीलाई ११८ सम्म पुर्‍याए।

दक्षिण अफ्रिकाले आफ्नो जवाफमा उत्कृष्ट सुरुवात गर्दै दुवै ओपनरले पहिलो ओभरमै चौका प्रहार गरे। वोल्भार्ड्टले पावरप्लेसम्म २४ बलमा १८ रन बनाइसकेकी थिइन् भने दक्षिण अफ्रिकाको स्कोर ६ ओभरमा बिना विकेटको क्षतिमा ३६ रन थियो।

वोल्भार्ड्ट र ब्रिट्सले खेललाई सहजै सम्हाल्दै १३ चौका प्रहार गरे र टोलीलाई सजिलै जित दिलाए। वेस्ट इन्डिजका बलरहरूले कुनै पनि विकेट लिन सकेनन्।