बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले स्मार्ट लाइसेन्स देखाउन नपर्ने

बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाउन नपर्ने भएको छ । उनीहरूले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको भर्चुअल लाइसेन्स देखाए हुनेछ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने ‘स्मार्टफोन’हरू ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।हस्तान्तरण गरिएका १०४ थान स्मार्टफोनबाट ट्राफिक प्रहरीले नागरिक एपमा रहेको लाइसेन्स स्क्यान गरी हेर्न सक्नेछन् । यसैले चालकले पनि अब भर्चुअल लाइसेन्स मात्र देखाए पुग्नेछ ।

शुक्रवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई उक्त स्मार्टफोन हस्तान्तरण गरेका हुन् । 

 

मन्त्री दाहालले प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरीबीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्य शुभारम्भ भएको बताए । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उनको भनाइ छ ।

प्रहरी महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजीकरण र सरलीकृत बनाउनका लागि ट्राफिक प्रहरीलाई हस्तान्तरण भएका स्रोत साधन अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरे । 

सो अवसरमा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत वरिष्ठ प्रहरी अधिकृतलगायत उपस्थित थिए ।