क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको पीडित परिवारलाई २६ लाख रुपैयाँ दिने

 मोरङमा बिहीबार क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको घटनामा क्रसर सञ्चालकले पीडित परिवारलाई २६ लाख रुपैयाँ दिने सहमति भएको छ ।

जनप्रतिनिधि, नेपाल प्रहरी र सामाजिक अगुवाको उपस्थितिमा भएको छलफलमा क्रसर सञ्चालकले मृतकको आफन्तलाई क्षतिपूर्ति दिने र घर बनाइदिने सहमति भएको छलफलका एक सहभागीले बताए ।बिहीबार केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसर उद्योगले उद्योग परिसरमा क्रसरले बनाएको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोरा ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेनको मृत्यु भएको थियो ।

शुक्रबार दिउँसो केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको कार्यकक्षमा भएको छलफलमा सञ्चालकले मृतकका आफन्तलाई क्षतिपूर्ति र राहत बापत २५ लाख रुपैयाँ नगद दिने र घर बनाइदिने सहमति भएको गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बताइन्  ।

केराबारी गाउँपालिका– ८ का वडा अध्यक्ष कमलकुमार बस्नेतका अनुसार तत्काल किरिया खर्च बापत क्रसर सञ्चालकले एक लाख रुपैयाँ उपलब्ध गराएका छन् ।केही दिनभित्र मृतक बालकको परिवारलाई २५ लाख रुपैयाँ दिने, घर बनाइदिने र दुई बालकको नाममा २ लाख रुपैयाँको अक्षयकोष बनाउने सहमति भएको छ । छलफलमा उक्त घटनाको विषयमा कतै उजुर नगर्न भनिएको एक सहभागीले बताए ।

छलफलमा गाउँपालिका अध्यक्ष मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित पक्ष, क्रसर सञ्चालक तथा पूर्वपालिका अध्यक्ष रोहित कार्की, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीलगायत उपस्थित थिए ।

उपाध्यक्ष मगरका अनुसार क्रसर सञ्चालकले माफी मागेको र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।बालकको परिवारको घर नभएकाले एक वर्षभित्र घर बनाइदिने सहमति पनि भएको छ । ‘क्षतिपूर्ति बापत २५ लाख दिने र पीडितले जग्गा उपलब्ध गराए एक वर्षभित्र घर बनाइदिने सहमति भएको छ’, उनले भनिन्,’तत्काल एक लाख किरिया खर्च दिने र बालक पढ्ने स्कुलमा २ लाखको अक्षयकोष खडा गर्ने सहमति छ ।’

बालकका बाबु तोयानाथ सोही क्रसर उद्योगमा कार्यरत मजदुर हुन् । पीडितको कमजोर आर्थिक अवस्थाका कारण आपराधिक घटनामा पनि जनप्रतिनिधि, प्रहरी र सामाजिक अगुवाले मिलापत्र गराएको एक स्थानीयले बताए ।क्रसरमा गाउँपालिका अध्यक्ष मिरिङचिङका बुवा नवीन पनि लगानीकर्ता हुन् । यो क्रसरमा गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, रोशन सुब्बा, विशाल खरेललगायतको लगानी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बालकको मृत्युमा कसैको दोष नदेखिएको बताए । यो घटना भवितब्य भएकाले त्यसै अनुसार अनुसन्धान गरिने उनले बताए ।