हामी नेपाल खत्तमै भयो भन्छौँ, त्यो होइन रहेछ :  परराष्ट्रमन्त्री राणा

 परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपाल नेपालीहरूले सोचेजस्तो नभएको जिकिर गरेकी छन् ।

अमेरिकालगायतका देश भ्रमणबाट शुक्रबार स्वदेश फर्केकी परराष्ट्रमन्त्री आरजूले यस्तो बताएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो भनिन्, “हामी राम्रै स्थितिमा छौँ ।”

अगाडि उनले भनिन्, “हामी नेपालको स्थिति खत्तमै हो भनेर भन्छौँ तर, त्यस्तो होइन रहेछ । संयुक्त राष्ट्रसङ्घको जुन दीगो विकासको लक्ष्य छ, त्यसमा हामीले ४७ प्रतिशत लक्ष्य हासिल गरिसकेका रहेछौँ । हामीभन्दा राम्रो देशहरू १७ प्रतिशत मात्रै रहेछन् । बाँकी देशभन्दा हामी राम्रै स्थितिमा छौँ ।”

फरक प्रसङ्गमा उनले संयुक्त राष्ट्रसङ्घको अर्को महासचिव महिला हुनुपर्ने बताएकी छन् । १५ देशका परराष्ट्रमन्त्रीहरूको बैठकले यो कुरा पारितसमेत गरेको उनले बताइन् ।

“हामी १५ देशका महिला परराष्ट्रमन्त्रीहरूको बैठक बसेको थियो । त्यहाँ मैले नेपालको बारेमा कुराकानी राखेँ, विमर्श राखेँ । त्यस क्रममा संयुक्त राष्ट्रसङ्घको अर्को महासचिव महिला हुनुपर्छ भनेर माग राख्यौँ । त्यो राष्ट्रसङ्घ पनि पुगिसकेको छ,” उनले भनिन् ।