छड्के निरीक्षणमा विमानस्थलमा मन्त्रीको चार घण्टा लामो छलफल

छड्के निरीक्षणमा गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार घण्टा बिताउनुभएको छ । बिहान सवा ८ बजे विमानस्थल पुगेर दिउँसो साढे १२ बजे त्यहाँबाट बाहिरिनुभएको बताइन्छ । 

त्यस क्रममा मन्त्री पाण्डेले आन्तरिक छलफल तथा विमानस्थलको स्थलगत अवलोकन गर्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलासहितका पदाधिकारी र मन्त्रीबीच बैठक हलमा भएको लामो छलफलमा निरौलाले विमानस्थलको समग्र अवस्थाबारे मन्त्रीलाई अवगत गराएको बताइन्छ । त्यसपछि कार्यालयले मन्त्रीबाट आवश्यक निर्देशन प्राप्त गरेको थियो ।

यता, काठमाडौंको आन्तरिक विमानस्थलमा यात्रुको भीड थामिनसक्नु देखिएको छ । बाढीपहिरो र डुबानपछि राजमार्गमा यातायात अवरुद्ध भएपछि हवाई यात्रामा चाप परेको हो । काठमाडौंबाट उपत्यका बाहिर हुने अधिकांश विमान कम्पनीका उडान समयमा नभएको बताइन्छ ।

हिजो दिउँसो काठमाडौंबाट साढे ३ बजे नेपालगञ्ज उड्नुपर्ने श्री एअरलाइन्सको विमान राति साढे ८ बजे त्यसतर्फ गएको थियो । पछिल्लो केही दिनदेखि अन्य उडानमा पनि कम्तीमा एकदेखि तीन घण्टा ढिलो हुने गरेको छ ।