चार महिनादेखि हराइरहेका झापाका ठाकुरको हत्या भएको आशंका, प्रहरी शव खाेज्दै

 चार महिनादेखि हराइरहेका झापाको बाह्रदशी गाँउपालिका-५ का का राजेश ठाकुरको हत्या भएको आशंकामा झापा प्रहरीले शवको खोजी थालेको छ । ठाकुरलाई हत्या गरेर पुरिएको सूचना आएपछि प्रहरीले नयाँ ढंगबाट अनुसन्धान अघि बढाएको हो ।

शव लुकाइएको हुन सक्ने सम्भावित स्थानहरूमा उत्खनन् गर्ने काम भइरहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए । यद्यपि अनुसन्धान जारी रहेको हुनाले यसै भन्न नसकिने उनको भनाइ छ ।

‘हामीलाई प्राप्त सूचनाका आधारमा शव गाडिएको हो कि भनेर पत्ता लगाउन खन्ने काम भइरहेको छ । तर, अहिलेसम्म केही पनि भेटेका छैनौं,’ उनले नेपाल प्रेससँग भने ।

बाह्रदशी- ५ फूलबारीका २१ वर्षका ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । उनलाई हत्या गरेर घरभित्रै गाडिएको सुचना प्रहरीलाई आएको छ । सोही सूचनाका आधारमा प्रहरीले बिहीबारदेखि उत्खनन् शुरू गरेको हो ।

छिमेकी गणेश राजवंशी र उनकी भाउजू मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर-आँगनमा शव गाडेको आशंका गरिएको छ । आफ्नी आमा मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको मुनाकै छोरा नरेशले प्रहरीलाई बताएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका छन् ।

घटनामा संलग्न भएको आरोप लागेका गणेश दुबईमा छन् । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । मुना र नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । उत्खनन्‌का क्रममा राजेशले लगाएको लुगा, नुनका खाली प्याकेटहरू र एउटा दाउ भेटिएको प्रहरी स्रोतले बतायो ।