गोरखा मिडियामा सहकारीको पैसा कसरिआयाे थाहा पाइनँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालीमा सहकारीको पैसा आएको राजनीतिमा आएपछि मात्रै थाहा भएको बताएका छन्।

सांसदका रूपमा तेस्रो सार्वजनिक सुनवाइ  गर्न चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन पुगेका बेला सभापति लामिछानेले यस्तो बताएका हुन्।

सहकारीको पैसा ल्याउने कुरामा आफ्नो संलग्नता नरहेको चितवन पुगेर पनि सभापति लामिछानेले दाबी गरे। ‘तर, आएको पैसामा सञ्चालक समेत रहेकाले जिम्मेवारी लिनुपर्छ भनेको छ। कार्यकारी अध्यक्षले सञ्चालक समितिलाई जानकारी नै नदिई व्यक्तिगत रुपमा निर्ब्याजी ऋण ल्याउँदा ‘तँलाई किन थाहा भएन’ भन्छन्। थाहा भएन त म के गरौं ?,’ उनले भने, ‘त्यतिखेर कोही एक जनाको मात्रै गुनासो आएको भए, गोरखा मिडियामा गैरकानूनी रूपमा सहकारीको पैसा भित्रिएको छ भन्ने जानकारी पाएको भए, त्यतिबेलै खोज्थे नि। तर, राजनीतिमा आएपछि थाहा पाएँ।’

यो विषय आफू दोस्रो पटक मन्त्री भएपछि राजनीतिक स्वार्थमा उचालिएको पनि उनले दाबी गरे। ‘अझ म दोस्रो पटक मन्त्री भएपछि राजनीतिक स्वार्थका लागि यो विषय चर्कोसँग उचालियो,’ उनले भने।

आफूले कम्पनीको खातामा भएको रकम मात्रै खर्च गरेको पनि सभापति लामिछानेले बताए। उनले भने,‘मैले त कम्पनीको खातामा भएको पैसा कम्पनीकै हितका लागि खर्च गरेको हुँ। बैङ्कबाट बैङ्कमै आएको पैसाबारे मलाई होइन राज्यका सम्बन्धित निकायलाई जानकारी हुनुपर्थ्यो होइन र ? ६५ करोड नै म हुँदा आएको र त्यसमा मेरो जिम्मेवारी हुनुपर्छ भनेर गलत व्याख्या गरिँदैछ, त्यो सत्य होइन्।’