एभरेष्ट महिला भलिबल लिग : चितवन शक्तिद्वारा काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दर्ता

एभरेष्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दर्ता गरेको छ ।

चितवनले आफू विरुद्ध खेलमा काठमाडौं र कर्णालीले नियम विपरित ट्यालेन्ट हन्टको खेलाडी छनोट गरेको भन्दै आयोजकसमक्ष उजुरी दर्ता गरेको हो । यसअघि ललितपुर क्विन्सले पनि गण्डकी थन्डर्सविरुद्ध सोही प्रकृतिको उजुरी दर्ता गरेको थियो ।

चितवनका अनुसार काठमाडौंले ट्यालेन्ट हन्टबाट रीतिका भट्ट र कर्णालीले सिता सेन ठकुरीलाई छनोट गरेकोमा दुवैले यसअघि नै राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेको जनाएको छ । त्यस्तै गण्डकीले पनि सोइङ थापालाई टोलीमा राखेको भन्दै ललितपुरले उजुरी दर्ता गरेको थियो । चितवनले पनि त्यसमाथि प्रश्न उठाएको छ ।

प्रतियोगिताको नियम अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेलेका खेलाडीलाई ट्यालेन्ट हन्टमा छनोट गर्न नपाउने प्रावधान छ । तर तीन टोलीले भने उक्त नियम तोडिएको पाइएको छ ।