गाडीको ठक्करबाट साइकलमा सवार यात्रुकाे मृत्यु, आईसीपी क्षेत्र तनाव, १० राउन्ड अश्रु ग्यास प्रहार

मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आईसीपी रोडमा तनाव सिर्जना भएको छ।

सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपुर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन्।

उनीहरूले सवारी साधन आवतजावतमा अवरोध गरेका छन्। आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डीएसपी वेद जोशीले बताए।

आन्दोलनको भीड आईसीपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले बताए।  बिहीबार बेलुका ६ ४५ बजे आईसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साइकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो।

घाइते उनलाई उपचारको लागि विराट नर्सिङ होम पठाइए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका साढे सातमा उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले ट्रक चालक सुनसरीको बर्जू गाउँपालिका ५ का ३० वर्षीय दीपक यादवलाई नियन्त्रणमा लिएको छ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय निरानीमा राखिएको छ।