चलचित्र ‘रंगी’को स्क्रिप्ट पूजा

 केही समय अघि टाइटल पोस्टर सार्वजनिक गरिएको चलचित्र ‘रंगी’को स्क्रिप्ट पूजा गरिएको छ । बिहीबार घटस्थापनाको अवसरमा राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा सम्पन्न भएको हो ।

सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यो सिनेमाको प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत रहेका छन् ।

सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्रको स्क्रिप्ट पूजामा अभिनेता सलोन बस्नेत, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक सुरेश न्यौपाने लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । सिनेमाको छायांकन आउँदो कार्तिक ५ गतेबाट सुरु हुने योजना रहेको छ ।

चलचित्र ‘रंगी’को मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ देखिने भएका छन् । नम्रताले यही सिनेमाबाट डेब्यु गर्न लागेकी हुन् । सलोन र नम्रता का अलावा सिनेमामा दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी र सुमिन गुरुङको अभिनय रहने भएको छ।

निर्देशक सुरेश यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका सफल चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

चलचित्रको टाइटल पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखिएका छन्। पृष्ठभूमिमा सूर्यास्तको दृश्यले बाबु-छोरीको सम्बन्धलाई संकेत गरेको देखिन्छ, जसले गर्दा चलचित्रले बाबु-छोरीको कथालाई चित्रण गर्ने अनुमान गरिएको छ।

सिनेमा ‘रंगी’ को निर्माण सक्षम सुवेदीले गर्नेछन् भने सुमन गजमेरले लेखन, सौरभ लामाले छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीले संगीत, कविराज गहतराज र शिशिर खातीले कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतले प्रोडक्सनको जिम्मेवारी सम्हाल्नेछन् ।