पूर्वाधार विकास समितिले आज सरकारका दुई मन्त्रीसँग छलफल गर्ने

कुलेखानीको ड्याम खोल्दा सावधानी नअपनाएका कारण ठूलो मानवीय र भौतिक क्षती

काठमाडौँ, १८ असोजः संसद्को पूर्वाधार विकास समितिले आज सरकारका दुई मन्त्रीसँग छलफल गर्ने भएको छ। 

समितिले आज ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गर्न लागेको हो।

पूर्वाधार विकास समितिका सभापति दिपक बहादुरसिंहका अनुसार ऊर्जा मन्त्री खड्कासँग अविरल वर्षाका कारण जलविद्युत आयोजनाहरूमा परेको असर र कुलेखानी जलविद्युत् आयोजनाको ड्यामबाट परेको असरका विषयमा छलफल हुनेछ। 

सभापति सिंहले कुलेखानीको निरीक्षणपछि मन्त्रीसँग छलफल गर्न लागेका हुन्। बिहान ११ बजेका लागि समितिको बैठक बोलाइएको छ। 

सभापति सिंहले कुलेखानीको ड्याम खोल्दा सावधानी नअपनाएका कारण ठूलो मानवीय र भौतिक क्षती भएको भन्दै आगामी दिनमा सम्बन्धित् निकाय जिम्मेवार बन्नुपर्ने बताए। 

यसैगरी समितिले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहाललाई पनि छलफलका लागि बोलाएको छ। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गहरूमा परेको असरको बारेमा समितिले मन्त्रीसँग छलफल गर्न लागेको हो। 

भारी वर्षाका कारण देशभरका राजमार्गहरूमा ठूलो क्षती पुगेको छ। कतिपय राजमार्ग दशैंअघि बनाउन सक्ने अवस्था नरहेको हिजोमात्रै भौतिक मन्त्रालयले जानकारी गराएको थियो।