भ्वाङ परेको डेढ महिना सम्म पनि बनेन कमलादीकाे सडक

गत जेठमा न्युरोडमा सडकपेटी बढाउने विषयलाई लिएर काठमाडौं महानगर र सडक डिभिजन कार्यालय काठमाडौंबीच निकै विवाद भयो । सडकपेटी साँघुरो भएको भन्दै महानगरले जेठ १२ मा यसलाई फराकिलो बनाउन सडक भत्कायो, पछि फेरि डिभिजन कार्यालयले जस्ताको तस्तै बनायो । यो विवाद उच्च अदालत पाटन पुग्यो । पछि महानगरले अदालतबाट फुटपाथ विस्तारका लागि अन्तरिम आदेश पायो । र, फेरि फुटपाथ विस्तारको काम अघि बढायो ।

महानगरसँग एकपछि अर्को विवाद हुन थालेपछि यहीबीचमा डिभिजन सडकले रातारात आफ्नो कार्य क्षेत्रभित्र पर्ने सडकमा रहेका विद्युत् पोलमा छोटकरीमा स.वि. लेख्न थाल्यो । यसको पूरा नाम हो– सडक विभाग । सडक डिभिजनले छिटोछिटो गरेर यो काम सक्यो । महानगरलाई आफ्नो सडक स्वामित्व देखाउन हतारिएको सडक डिभिजनले गत साउन २५ मा कमलादीमा भ्वाङ परेको सडक भने अझै बनाउन सकेको छैन ।

भ्वाङ परेको सडक अलपत्र छ । उक्त ठाउँलाई सामान्य डोरी टाँगेर घेरिएको छ । समयमै सडक नबन्दा यो खण्डमा ट्राफिक जाम नभएको दिन हुँदैन । ट्राफिक प्रहरी वृत्त दरबारमार्गलाई सधैं ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । कार्यालय समय र साँझ सवारी चाप बढी हुने भएकाले ट्राफिक व्यवस्थापन गर्न समस्या हुने गरेको दरबारमार्ग वृत्तका ट्राफिक प्रहरी प्रमुख गंगा बुढाथोकीले बताए ।

‘भ्वाङ परेको ठाउँलाई घेरेर राखिएको छ, जहाँ सवारीसाधन जान दिइएको छैन,’ उनले भने, ‘छिटो सडक बने ट्राफिक व्यवस्थापनमा समस्या हुने थिएन ।’ यो सडक भएर ओहोरदोहोर गर्नेहरूले कार्यालय समयमा घण्टौंसम्म ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचबाटोमै भ्वाङ परेपछि सवारी व्यवस्थापनमा समस्या भएको हो । भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । जुन खण्ड काठमाडौं महानगरको १ र २८ वडाको सीमा क्षेत्रभित्र पर्छ । यसबारे महानगर र सडक डिभिजनलाई छिटो सडक बनाउन ध्यानाकर्षण गर्दै आए पनि बनाउन ढिलाइ गरिरहेको वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले बताए । सडक छिटो बनाउनेबारे मेयर बालेन्द्र शाह (बालेन) सकारात्मक देखिए पनि सडक विभागबाट ढिला भइरहेको उनको भनाइ छ ।

‘सडकमा भ्वाङ परेदेखि सवारी सञ्चालनमा समस्या भएको छ,’ उनले भने, ‘यो तत्काल गर्नुपर्ने काम हो, अहिलेसम्म केही गरिएको छैन ।’ फेरि पनि निर्माणमा बेवास्ता गरे पत्र पठाएर दबाब दिने उनको भनाइ छ । अबको १० दिनभित्र ठेक्का सम्झौता भएर काम सुरु हुने दाबी सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीको छ । ‘कल्भर्ट भत्किएको हो, भत्किनेबित्तिकै भौतिकमन्त्री देवेन्द्र दाहालसहित गएर हेर्‍यौं,’ उनले भने, ‘त्यो बेला भत्कीएको ठाउँको तल पानी धेरै थियो, जसले गर्दा थप क्षति हुने डरले तत्काल काम गर्न सकिएन ।’

त्यति बेला दुई विकल्प थिए, तत्काल निर्माण गर्ने वा खरिद ऐनअनुसार ठेक्का आह्वान गरेर अघि बढ्ने । ‘पहिलो विकल्प प्रतिस्पर्धा नगरी छिटो उपायबाट ठेक्का गराएर काम गराउने भन्ने हो,’ भण्डारीले भने, ‘अर्को सार्वजनिक खरिद ऐनअनुसार गर्ने भन्ने हो, तत्कालै गर्न सकिने भएको भए त्यो बेलै मन्त्री, सचिवले आदेश दिनुहुन्थ्यो ।’ तत्कालै त्यो बेला निर्माणमा जाने गरी थप खन्न थालेको भए झन् क्षति हुने खतरा भएर काम थालिनहालेको उनको भनाइ छ ।

‘थप क्षति हुन नदिन भत्किएको ठाउँलाई तत्काल नचलाउने निर्णय भयो,’ भण्डारीले भने, ‘त्यसपछि राम्रोसँग हेरेर नियमअनुसार ठेक्का गरेर अघि बढ्ने कुरा भयो ।’ पछि बक्स कल्भर्ट निर्माण गर्ने भनेर डिजाइन भएको उनले सुनाए । प्रतिस्पर्धाबाट डीजी प्रकाश कन्स्ट्रक्सन छनोट भएको छ । यसको ठेक्का रकम ४५ लाख रुपैयाँ छ ।

‘केही दिनअघि छानिएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्झौता गर्न बोलाएका छौं,’ भण्डारीले भने, ‘जुन कम्पनी बैंक ग्यारेन्टी बनाएर आउनेछ, अबको १० दिनभित्र ठेक्का सम्झौता भएर काम सुरु हुनेछ ।’ सडक विभागको ‘स्ट्यान्डर्ड’ अनुसार अहिलेको भन्दा ठूलो बक्स कर्ल्भट बनाइनेछ । लगातार पानी परिरहेका बेला ११ मिटर लम्बाइमा पूरै कल्भर्ट भत्किएर सडकमा भ्वाङ परेको थियो ।

‘त्यो बेला यो काम तीन महिनाभित्र काम सकिएला भन्ने थियो, डेढ महिना बित्यो,’ भण्डारीले भने, ‘अब बढीमा दुई महिनाभित्र यसको काम सकिनेछ ।’ कल्भर्ट राणाकालीन समयमा बनाइएकाले जीर्ण भएर भत्किएको हुन सक्छ । ‘जसमा काठ र फलामको बिम हालेर अड्याइएकाले जीर्ण भएर भत्किएको हुन सक्छ,’ उनले भने ।

काठमाडौंमा सडक भ्वाङ पर्ने र भासिने क्रम पछिल्लो समय बढ्दै गएको पूर्वसचिव तुलसी सिटौलाले बताए । ‘पहिला–पहिला मुग्लिनदेखि नारायणगढतर्फ र मुग्लिनदेखि नौबिसेसम्मको खण्डमा सडकमा भ्वाङ पर्ने समस्या देखिने गर्थ्यो, अहिले पनि ठाउँ–ठाउँमा यो समस्या छ,’ उनले भने, ‘तर उपत्यकामा सडक भ्वाङ पर्नुको मुख्य कारण नजिकमा पानी बग्ने ठाउँ र पाइपलाइन विस्तार गर्दा त्यसलाई राम्रोसँग नपुर्नाले पनि हुन सक्छ । खोला र पाइपलाइनबाट सडक धेरै नजिक हुँदा पनि यस्तो समस्या हुने गरेको उनको भनाइ छ ।

काठमाडौं जिल्लाभित्र ४ सय ७२ किलोमिटर बाटो सडक डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र पर्छ । त्यसमध्येको १ सय ४८ किलोमिटर सडक भने काठमाडौं महानगरपालिकाभित्र छ । १ सय ४८ किलोमिटर सडकमध्ये ८ मिटरभन्दा माथिका सडक भने सडक डिभिजन कार्यालय, काठमाडौं मातहत पर्ने विभागको दाबी छ ।