चलचित्र ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक

चलचित्र ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । बिन्दवासिनी क्रियसनको व्यानरमा निर्माण गरिएको चलचित्र ‘फिरफिरे फिरिरी’ मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो । सार्वजनिक शीर्ष गीतमा प्रशान्त सिवाकोटीको शब्द, संगीत भने स्वर भरत अधिकारी, प्रशान्त सिवाकोटी, टीकाराम श्रेष्ठ र रोषा फुयाँलको रहेको छ । सार्वजनिक गीतमा चलचित्र प्रमुख पात्रहरू सबै फिचर्ड छन् ।

सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको चलचित्र ‘फिरफिरे फिरिरी’ले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दै हुनुहुन्छ । चलचित्र आगामी कात्तिक २२ गते छठ पर्वको दिनदेखि सिनेमाघरमा आउँदैछ । चलचित्रको सार्वजनिक पोष्टर अनन्त घिमिरेले डिजाइन गर्नुभएको हो ।

यस चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप, भावना उप्रेती, शंकर सेढाइँ, पिटर प्रिन्स, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायत कलाकारको अभिनय छ ।

हरर कमेडी जनरामा बनेको यो चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ ।