गुठी संस्थानको अतिक्रमणमा परेको जग्गा प्रदेशको मातहतमा ल्याइने : मुख्यमन्त्री सिंह

काठमाडौँ, १८ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताउनुभएको छ । 

मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले जनकपुरधामको ५२ बिघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबारसहितको सभा हल र अन्य पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको बताउनुभयो । 

“रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने समेत योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री सिंहले जनकपुरधामको महिमासँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमतिको पहिलाको स्वरूप अनुसारको विकास गर्न नक्सा सङ्कलनका लागि प्राविधिकसहितको टोली खटाउने काम प्रदेश सरकारले गरेको जानकारी दिनुभयो । 

प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरण निर्माण आवश्यक भएको  बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख  मनोजकुमार साहले सस्तो बजारबाट आम उपभोक्ता लाभान्वित हुने बताउनुभयो । आजदेखि सुरु भएको सस्तो बजार यही असोज २५ गतेसम्म चल्नेछ ।