सांसदहरू प्रमुख मतदानमा पार्टी लाइनबाट बाहिर जानसक्ने पाकिस्तानी सर्वोच्च अदालतको फैसला

काठमाडौँ, १७ असोज : पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरूले प्रमुख मुद्दाहरूमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ । यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ । 

गत फेब्रुअरीमा भएको निर्वाचन धाँधलीले प्रभावित भएको थियो र यसबाट प्रधानमन्त्री शहबाज शरिफलाई फाइदा पुगेको थियो । अस्थिर गठबन्धन सरकारका प्रमुख शरिफसँग संविधान परिवर्तन गर्न आवश्यक दुई–तिहाई बहुमतको अभाव छ ।

उहाँले कथित रूपमा कार्यपालिकालाई न्यायपालिकामाथि अधिक शक्ति दिने योजना बनाइरहनुभएको छ । न्यायपालिकामा जेलमा रहनुभएका विपक्षी नेता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलिरहेका छन् । 

बिहीबारको फैसलाले शरिफको सरकारलाई व्यक्तिगत सांसदहरूको मत माग्न र खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीप्रति वफादार सांसदहरूलाई समर्थनका लागि दबाब दिन अनुमति दिनेछ । 

“यसले संवैधानिक संशोधनका लागि उनीहरूको बाटो खोलिदिएको छ, यो शासक दलले पिटिआईलाई कमजोर पार्न पनि प्रयोग गरिरहेको छ”, राजनीतिक विश्लेषक जाहिद हुसेनले भन्नुभयो । 

सन् २०२२ को सर्वोच्च अदालतको एउटा फैसलामा पार्टी लाइन पार गरेका सांसदहरूको मत संवैधानिक संशोधन, अविश्वासको मत र प्रधानमन्त्रीको निर्वाचनजस्ता प्रमुख मतगणनामा गणना नगरिने उल्लेख छ । 

यद्यपि बिहीबारको फैसलाले त्यो फैसलालाई ‘सर्वसम्मति’ ले फिर्ता लिएको छ । प्रधानन्यायाधीश काजी फाएज इसाले अदालतमा विस्तृत फैसला पछि जारी गरिने बताउनुभयो । 

विपक्षी दलहरूले शरिफको सरकारले प्रस्ताव गरेको संशोधनले संविधानमााथि निर्णय गर्न नयाँ अदालत सिर्जना गर्ने र त्यसको प्रमुख न्यायाधीश प्रधानमन्त्रीले छान्ने बताएका छन् । सर्वोच्च अदालत र अन्य पाकिस्तानी न्यायाधिकरण नयाँ अदालतको फैसलाको अधीनमा रहनेछन् ।

पिटिआईका वकिल अली जाफरले भन्नुभयो, “यो संवैधानिक संशोधनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्र र संविधान आफैँलाई पनि कमजोर बनाउनेछ ।”

खानलाई फेब्रुअरीको निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र उहाँका अनुसार राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाइएका मुद्दाहरूमा उहाँ जेलमा हुनुहुन्छ । 

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानप्रति वफादार उम्मेदवारहरू उक्त निर्वाचनपछि संसद्मा सबैभन्दा ठूलो समूह बने तर शासन गर्न आवश्यक बहुमत पुर्याउन असफल भए । 

शरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–नवाज) पार्टीले शक्तिशाली सैन्य प्रतिष्ठानको नजिक मानिने अन्य दलहरूसँग सरकार बनाउन सम्झौता गर्यो । 

यद्यपि नियमित सडक प्रदर्शन गर्दै र संसद्मा सरकारलाई चुनौती दिँदै पिटिआई एउटा सक्रिय विपक्षी शक्ति रहेको छ ।

खानले आफूविरुद्धका धेरै भ्रष्टाचारको आरोपमा मुद्दाहरू विभिन्न अदालतहरूमा नचाएको देख्नुभएको छ । एकहत्तर वर्षीय खान एक वर्षभन्दा बढी समयदेखि जेलमा हुनुहुन्छ । पिटिआईले शुक्रबार राजधानी इस्लामाबादमा नयाँ विरोध प्रदर्शनको आह्वान गरेको छ ।