एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि

काठमाडौँ, १७ असोज : ‘एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ १४ र महिलातर्फ सात टोलीको सहभागिता रहनेछ । इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको महासचिव घिमिरेले जानकारी दिनुभयो । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् ।
 
यस्तै समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजकिस्तान, कतार, साउदी अरब र श्रीलङ्का तथा समूह ‘डि’ मा भारत, अफ्गानिस्तान, बङ्गलादेश र चाइनिज ताइपेईं रहेका छन् । 

महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया र श्रीलङ्का छन् । सबै टोली नेपाल आइसकेको महासचिव घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्णपदक, दोस्रो हुनेले रजत र तेस्रो हुनेले कास्य पदक प्राप्त गर्नेछन् ।

नेपालबाट महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गर्नेछन् । यो प्रतियोगिता सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा रहेको छ । प्रतियोगिताको विजेताले सन् २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् । रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले नेपाली टोलीले करिब चार महिनाको तयारी गरेको बताउनुभयो ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुन लागेको उक्त प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० खेल खेलाइने छ । सिनियरस्तरको एसियाली रग्बी प्रतियोगितामा नेपालमा पहिलो पटक हुन लागेको हो ।