जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन

काठमाडौँ, १६ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा निस्वार्थ भावले गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

बैतडीको पुर्चाैँडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा दिन कुनै कसर बाँकी राख्नुहँदैन । निस्वार्थ भावनाले जनताको सेवामा खटिनुपर्छ ।”

प्रदेश सरकार सुशासनका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले बिचौलियाका माध्मबाट कुनै पनि योजना तथा कार्यक्रम सञ्चालन नहुने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरिरहेको छ । माग र आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।”

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय शिवराज भट्ट र विक्रमसिंह धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुवँर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, उपप्रमुख मीना धानुकलगायतको सहभागिता रहेको थियो । विसं २०७७ मङ्सिरमा निर्माण थालिएको सो भवन रु ६ करोड ७६ लाखको लागतमा २०८१ वैशाखमा निर्माण सम्पन्न भएको हो ।