२१ असोजदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा एक हजार ७०० खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । गत वर्षको दसैँमा तीन हजार खसीबोका र च्यांग्रा खरिद गरेको खाद्यले यस वर्ष घटाएको हो । 

यसपटकको दसैँलाई एक हजार ४०० खसीबोका र ३०० च्यांग्रा खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।उनका अनुसार, मुस्ताङबाट ३० च्यांग्रा काठमाडौंका लागि हिँडाइएको छ । त्यस्तै,  दाङ, नवलपुर र  वीरगन्जबाट एक हजार ४०० खसीबोका खरिद गरिएको छ ।

असोज २० गतेसम्म यी खसीबोका र च्यांग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा आइपुग्ने र असोज २१ गतेबाट बिक्री गर्न थालिने थापा बताउँछिन् । यो वर्ष दाङबाटट ४००, नवलपुरबाट ५०० र वीरगन्जबाट ५०० गरी कुल एक हजार ४०० खसीबोका खरिद गरिएको प्रादेशिक प्रमुख थापा बताइन् ।

गत वर्ष खाद्यले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ तोकेको थियो । तर, पछि यस मूल्यमा २० रुपैयाँ घटाएर प्रतिकिलो ६५० रुपैयाँमा बिक्री गरिएको थियो । त्यसैगरी, च्यांग्रा गत वर्ष एक हजार २५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेकोमा पछि ३० रुपैयाँ घटाइएको थियो ।

यो वर्ष भने मूल्य तोकिएको छैन । तर, जिल्लामा नै खसीबोकाको खरिद मूल्य प्रतिकिलो ५६० रुपैयाँ परेको छ भने च्यांग्राको प्रतिकिलो एक हजार ८५ रुपैयाँ परेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले बताए । यस मूल्यमा काठमाडौंसम्म आइपुग्दा केही बढ्न सक्ने र बढेको मूल्यमा बजार मूल्यभन्दा केही छुट हुने गरी मूल्य निर्धारण गर्ने आचार्य बताउँछन् ।

हाल बजारमा व्यापारीहरूले एक हजार २५० देखि १३ सयसम्म च्यांग्रा बिक्री गर्न थालिसकेका छन् । गत वर्षको दसैँमा खाद्यले धादिङ, मकवानपुर र दाङबाट दुई हजार खसीबोका र एक हजार च्यांग्रा खरिद गरेको थियो ।