भारतबाट चोरेर ल्याएको सुन फिर्ता

जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरेर ल्याएको सुन फिर्ता गर्न लगाएको छ। भारतको राजस्थान राज्य नागौर किशनगढ जिल्ला परवतसरको एक घरबाट सुन चोरी भएकोमा चोर डोटी पुगेका थिए।

आज बिहीबार प्रहरीले चोरेर ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन सुनधनी महेन्द्र सिंहलाई फिर्ता गराएको हो।दिपायल–सिलगढी नगरपालिका–२ का २४ वर्षीय रविसिंह भनी चिनिने कैलाशले गत जेठ १४ गते महेन्द्र सिंहको घरबाट चोरी गरेर ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार भारतबाट सुनचाँदी र नगद चोरी गरेर नेपाल आउन लागेका दुई जनालाई भने भारतको पलियामा पक्राउ गरेर उतै मुद्दा चलाइएको छ।

नेपाल आएका कैलाशलाई भने अनुसन्धानको दायरामा ल्याउँदा ४१५ दशमलव ३७ ग्राम सुन बरामद भएको हो।

महेन्द्रको घरमा काम गर्ने कैलाशले घरधनी घुम्न गएको बेला चोरी गरेर भागेका थिए। २०७८ माघ २६ गतेको सचिव स्तरको निर्णय र सोही निर्णयको आधारमा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्राचार अनुसार सम्बन्धित व्यक्ति महेन्द्र सिंहलाई सुन हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।