बाढीपहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

काठमाडौँ, १७ असोजः  हलेसी तुवाचुङ नगरपालिकाले अविरल वर्षासँगै आएको बाढीहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । 

यही असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले नगरपालिका क्षेत्रका विभिन्न स्थानमा भएको क्षति विवरण सङ्कलन गर्न नगरप्रमुख विमला राईसहितको प्राविधिक टोली स्थालगत अनुगमनमा निस्किएको हो । 

बाढीपहिरो पीडितको अवस्था बुझेर राहत तथा उद्धारको व्यवस्था मिलाउन स्थलगत अनुगमन थालिएको नगरप्रमुख राईले बताउनुभयो । “नगरपालिकाका अधिकांश वडा दूधकोशी तथा सुनकोशी नदीको तटीय क्षेत्रमा पर्छन् । सो क्षेत्रमा यस पटकको बाढीपहिराले ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “बाढीपहिरो पीडित स्थानीयको अवस्था बुझेर राहत तथा उद्धारको योजना बनाउने छौँ । साथै क्षतिको यकिन विवरण सङ्कलन भएपछि राहत उपलब्ध गराउन सहज हुनेछ ।”

नगरप्रमुख राई नेतृत्वको टोलीले वडा नं १ बाहुनीडाँडास्थित जयरामघाट आसपासका स्थानीयको घर तथा गोठमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । यही असोज १२ गतेसम्म परेको अविरल वर्षासँगैको बाढीपहिरोले जयरामघाटमा मात्रै दर्जनबढी घर तथा गोठमा क्षति गरेको पाइएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।  

दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको बाढीपहिरोले जिल्लाका एक सय ३५ स्थानीय विस्थापित भएका छन् । विभिन्न ठाउँमा आएको बाढीपहिरोले ३३ घर पुरिँदा एक सय ३५ जना विस्थापित भएका बताउँदै उहाँले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो ।

साथै दुई जना स्थानीय घाइते हुनुका साथै ३८ घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । 

बाढीपहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक स्थानीयका घरमा भएको क्षति रु ७९ लाख ९९ हजार बढीको रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । 

बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरको धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको प्रजिअ कार्कीले बताउनुभयो । 

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।