पशुरोग न्यूनिकरण गर्न रणनीति कार्यान्वयनमा

काठमाडौँ, १७ असोजः भोजपुरमा पशु चौपायामा लाग्ने विभिन्न रोग, रोकथाम तथा जोखिम निराकरण गर्ने भन्ने विषयमा ठोस योजना तयार गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको छ । पशुमा लाग्ने विभिन्न रोगको जोखिमका कारण किसानहरु समस्यामा परेपछि रोगको न्यूनिकरणको लागि कार्यक्रम गरिएको हो । 

विगतमा यहाँ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाको सम्पर्क केन्द्रको रुपमा मात्र सेवा प्रवाह भइरहेको  थियो । हाल यहाँ पूर्ण अधिकारसहितको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय स्थापना भएपछि कामलाई थप प्रभावकारी रुपमा सञ्चालनमा सहजता भएको कार्यालयले जनाएको छ । गत असार ३० गते यहाँ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको हो ।

जिल्लामा नै कार्यालय स्थापना भएपछि स्थानीय तहमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुसँग आवश्यक रणनीति तयार गर्न कार्यक्रम गरिएको केन्द्रका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो । प्राविधिक तथा कर्मचारीहरुसँग हाल भइरहेको काम तथा भावी दिनमा सञ्चालन हुने कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा रणनीति तयार गरिएको उहाँले जानकारी दिनुभयो  । कार्यक्रम मार्फत राष्ट्रिय खोरेत रोग नियन्त्रण अभियान सञ्चालनको विषयमासमेत छलफल गरिएको उहाँको भनाइ छ ।

+“ रोगका कारण किसानहरुले धेरै क्षति व्यहोर्नु परेको अवस्था छ”उहाँले भन्नुभयो,“ फैलिन सक्ने रोगको रोकथाम तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय कार्यालय गम्भिर रुपमा लागेको अवस्था छ । यो कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहका पशु शाखामा कार्यरत प्राविधिहरुसँग समन्वयमा काम गरिरहेका छौैँ । यहाँ नै कार्यालय स्थापना भएपछि कामलाई थप प्रभावकारी बनाउन सहजता भएको छ ।”

नौ वटै पालिकाका पशु शाखामा कार्यरत प्राविधिक तथा कर्मचारीहरुले पशु रोग नियन्त्रणको लागि आफ्नो स्थानीय तहमा भईरहेको काम र भावी दिनमा गर्न सकिने योजना तथा कार्यक्रम विषयमा सल्लाह सुझाव दिएका छन् । 

प्रत्येक त्रैमासिकमा स्थानीय तहका प्राविधिक तथा कर्मचारीसँग समन्वय वैठक सञ्चालन गरेर कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना तयार गर्ने काम भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा पशुमा लाग्ने मुख्य रोग र त्यसको रोकथामको लागि गर्न सकिने कामको विषयमासमेत छलफल गरिएको कार्यालयले जनाएको छ